|

ओखलढुंगा : एउटै वडामा १४ योजना, २ करोड ३० लाख ४० हजार बजेट एक महिनामा खर्च। सुन्दा अचम्म लाग्न सक्छ। तर ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा यस्तै भएको छ। 
गाउँलेहरु असार महिनाभरि व्यस्त रहे, तर खेतीपातीमा हैन, विकासको कामले। सिद्धिचरण नगरपाकिा–४ रुम्जाटारमा असार लागेसँगै विकासको चटारो भयो। सदाझैं आर्थिक वर्षको अन्त्यमा योजना सक्न भ्याइनभ्याई भयो।

प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय अन्तर्गत वडाका लागि वटा सडक स्तरोन्नतिमा २ करोड ३० लाख ४० हजार बजेट विनियोजन भएको थियो। यसवर्ष पनि आर्थिक वर्षको अन्त्यमा बजेट पाएपछि काम सक्ने चटारो स्थानीयलाई पर्यो। त्यसमाथि पनि १४ वटा उपभोक्ता समिति गठन गरेर योजना सम्झौता गरिएपछि उपभोक्ताको रुपमा काम गर्न प्रायः सबै घरधुरीका उपभोक्ताले भ्याए। 

रोचक कुरा भने, सबै योजना सडक स्तरोन्नति शीर्षकमा थियो। तर कामचाहिँ सिँढी बनाउने, गल्लीमा सोलिङ गर्ने र माटो बिछ्याउने सम्म भए। यी सबैलाई गोलमटोल सडक स्तरोन्नति नाम दिइएको थियो। जेठको २६ र २७ गते सम्झौता भएका योजनाहरु असार २५ भित्र सम्पन्न गर्ने म्याद थियो। सोही म्यादमा सबैले योजना सम्पन्न गरे। तर काम गुणस्तरीय भएन। 

इमानदारीका साथ साँच्चै इस्टिमेट अनुसारको काम प्राविधिक राखेर नापजाँच गरी मूल्यांकन गर्ने हो भने एक करोडभन्दा बढीको काम नभएको निर्माण व्यवसायीसमेत रहेका रुम्जाटारकै एक स्थानीयले बताए। 

दुई करोड रुपैयाँभन्दा बढी सकिएको तर  तर काम गतिलो नभएको आरोप लगाए। ‘बजेट आउनु नराम्रो त हैन, तर सदुपयोग नभएपछि विकास कसरी हुन्छ ?’ उनले प्रश्न गरे।योजनाहरुमा न्यूनतम ९ लाख ६० हजारदेखि २८ लाख ८० हजारसम्मका थिए। केही योजना उपभोक्ताले गुणस्तरीय निर्माण गरे पनि धेरैजसोले आँखामा छारो हाल्ने काम मात्र गरेको असन्तुष्ट पक्षको भनाइ छ। अझ उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता मात्र राखेको गुनासो पनि उत्तिकै आइरहेको छ। 

फरक मत राख्ने समितिमा अटाएनन्

१४ आयोजनामा १४ वटै उपभोक्ता समिति गठन भए, तर नेकपा बाहेकका अन्य पार्टीमा आबद्धलाई समितिमा नराखेको कांग्रेसका एक कार्यकर्ताले बताए। कांग्रेस आबद्ध हो भन्ने थाहा भएपछि गठन गरिएको समितिबाटै खोजीखोजी हटाइएको उनको आरोप छ। 

पुरानै पर्खालमाथी ढुंगा जोडेर माथिबाट सिमेन्टले लिपे जस्तो गरेर काम भइरहेको उनले बताए। ‘प्राविधिक र उपभोक्ता समितिको मात्र मिलेमतो भए त हुन्थ्यो, यहाँ त प्रत्येकजसो घरका सदस्यको संलग्नता भएकोले कोही बोल्न नसक्ने अवस्था छैन,’ नाम नबताउने सर्तमा एक युवाले मुख खोले। 

समय नपुगेर गुणस्तर नभएको स्विकारोक्ति

उपभोक्ता समितिका पदाधिकारीहरु पनि हतारमा काम गर्दा भनेजस्तो काम नभएको स्विकार्छन्। ‘हतारमा काम गर्दा केही न केही असर त परेकै छ। भनेजसरी काम गर्न समस्या भएको समय छोटो भएका कारण आफूहरुले स्टिमेट अनुसारको काम गर्न नसकेको गुरुधाम चोकदेखि ठुलढिक जाने सडक स्तरोन्नति उपभोक्ता समितिका सचिव दिपेश श्रेष्ठले बताए। समय पाएको भए योभन्दा गुणस्तरीय काम हुने उनले दाबी गरे। 

यी सबै योजनाको बजेट, योजना सम्झौता र कार्यान्वयन पक्ष हेर्ने प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयले भने सोचेभन्दा राम्रो काम भएको दाबी गरेको छ। छोटो समयमा

गुणस्तरीय काम भएको दाबी

‘हामीले त यो एक महिनामा काम नै गर्न सक्दैनन् होला भन्ठानेका थियौं, तर काम मात्र समयमा सकेनन्, गुणस्तर पनि राम्रो देखिएको छैन,’ पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोले बताए। 

तर गुणस्तरीय काम नभएको भन्ने गुनासोमा उनले कुनै व्यक्तिहरुको स्वार्थ अनुसारको काम नगर्दा आरोप मात्र लगाएको बताए। पूर्वाधार विकास कार्यालयले संचालन गरेको उपभोक्ता समिति अन्तर्गतको २२ वटा योजनामा १४ वटा रुम्जाटारमा मात्र छनोट भएको देखिन्छ। 

बाँकी ८ वटा योजना मात्र अन्य स्थानीय तहमा सञ्चालित छन्। यस विषयमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पत्र लेखेको आधारमा ती योजना छनोट गरी सञ्चालन गरेको प्रमुख महतोले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.