|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवालाई एकलौटी ढंगबाट पार्टी चलाउन बन्द गर्न आग्रह गरेको छ।  

पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै पौडेल समूहले सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिता विपरीत कार्यकाल केन्द्रमा पेस गरेको भन्दै आपत्ति जनाएको हो।

पौडेल समूहले देउवालाई ध्यानाकर्षण पत्र पनि लेखेको छ। पौडेल समूहले लेखेको पत्रमा वरिष्ठ नेता पौडेल र कांग्रेसका महामन्त्री शशांक कोइरालाले हस्ताक्षर गरेका छन्। उनीहरुले गोविन्दराज जोशी लगायतका नेतालाई पार्टीबाट निष्कासित गरिएकोप्रति आपत्ति पनि जनाएका छन्। 

‘पार्टीमा दशकौंदेखि रगत-पसिना भिजाएका साथीहरुलाई वडा, क्षेत्र र जिल्लामै बहिष्कृत गराउने वा उहाँहरुको मनोवल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबोध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन’ उनले देउवालाई लेखेको पत्रमा भनिएको छ।

पौडेल समूहले देउवाले गल्ति नसच्याए कडा रुपमा दबाब बढाउने पनि बताएको छ। वरिष्ठ नेता पौडेलले १४ औँ महाधिवेशनमा कांग्रेसको गुट अन्त्य गर्ने वातावरण बनाउन सभापतिलाई आग्रह गरेको पनि बताए।   

यस्ताे छ पाैडेल समूहले लेखेको पत्र 

श्रीमान् सभापतिज्यू, 
नेपाली कांग्रेस, केन्द्रीय कार्यालय,
बी.पी. नगर, ललितपुर।

विषय : पार्टी विधानको पालना, चौधौं महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रबद्र्धन बारे।

नेपाली कांग्रेस नेपालको राष्ट्रिय राजनीतिमा लोकतन्त्रको आधार स्तम्भ हो। यस पार्टीका माथिदेखि तलैसम्मका सबै निकाय र भातृ तथा शुभेच्छुक संस्थाहरूको आवधिक अधिवेशन र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रुपमा सुसम्पन्न गराई आन्तरिक लोकतन्त्रको सुनिश्चितताले विभिन्न कोणबाट लोकतन्त्रमाथि आइपर्ने चुनौती नेपाली कांग्रेसले सामना गर्न सक्दछ। तर पार्टीका निकायहरुको समायोजन, क्रियाशील सदस्यता वितरण, विधान विपरीत विभागहरुको गठन, भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधि संचालनबाट पार्टीका बहुसंख्यक साथीहरु झै हामीलाई पनि पार्टीको १४ औं महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न हुनेछ भन्ने विश्वास गर्ने आधार हराउँदै गएको अनुभूति भएको छ। यस्तो अविश्वासको वातावरण समाप्त गरी पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध गर्दै आवश्यक परामर्श गरी विधिपूर्वक बाटोबाट आगामी महाधिवेशन सम्पन्न गर्ने अहिलेको आफ्नो प्रमुख कर्तव्यप्रति सभापतिज्यूको गम्भीर ध्यानाकर्षण गर्दछौं। 

यही उद्देश्य र कर्तव्यलाई मनन गर्दै नेपाली कांग्रेसको आसन्न चौधौं पार्टी–महाधिवेशनलाई ऐतिहासिक महत्वको, एकताबद्ध तथा युगान्तकारी बनाउन स्वच्छ, निष्पक्ष र पारदर्शी तरिकाले पार्टीको क्रियाशील सदस्यता वितरणदेखिनै पार्टी विधानको अक्षर र भावना अनुरुप विधि र प्रकृयालाई निष्ठापूर्ण ढंगले अघि वढाउनु जरुरी छ। यसमा हुने कुनै पनि हेलचेक्रायाई वा मनपरितन्त्र वा खेलवाड र पूर्वाग्रही कार्यले समग्र पार्टी र लोकतन्त्रलाई नै गम्भीर आघात पु¥याउन सक्छ भन्ने हेक्का हामी सबैले राख्नु जरुरी छ।
तसर्थ निम्नलिखित गम्भीर मुद्दातर्फ सभापतिजीको विशेष ध्यानाकर्षण गर्दै महाधिवेशनको स्वच्छता, स्थापित मान्यता, संस्थापक तथा अग्रज नेताहरूले बसालेको असल परिपाटी र संस्कारलाई निरन्तर कायम राख्नु हामी सबैको कर्तब्य हो। 

१.क.    विधानतः तेह्रौं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने केन्द्रीय विभागहरू, अहिले चौधौं महाधिवेशनको कार्यक्रम अघि बढिसकेपछि, गठन गरिरहनु भएको 

छ। यसबाट विधानको पूरै उल्लङ्घन भएको छ। नेपाली कांग्रेस महासमितिको बैठकले पारित गरेको पार्टी–विधानको मसी नसुक्दै सो विधानले निश्चित व्यवस्था गरेका २८ विभागलाई बढाएर, हाम्रो असहमति हुँदाहुँदै ४८ पुर्‍याई अन्धाधुन्ध तरिकाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत कार्यकाल सकिएपछि थपिएको एक वर्षभित्र, त्यो पनि महाधिवेशनको तिथि घोषणा भइसकेपछि फगत महाधिवेशनलाई प्रभावित गर्ने कुत्सित मनसाय हो भन्ने हाम्रो ठहर छ। त्यसैले यसमा हाम्रो गम्भीर आपत्ति छ र यो अस्वीकार्य छ। यस्ता कार्य तत्काल बन्द गरियोस् र त्यस्ता निर्णय खारेज गरियोस्। 
१.ख. तत्कालीन पार्टी सभापति सुशील कोइरालाले कार्यकालको तेस्रो वर्षमा गरेको विभाग गठनलाई स्वयं वर्तमान सभापतिज्यूले अस्विकार गर्नु भएपछि सम्पूर्ण विभाग निश्कृय भएको वास्तविकता पनि हामी स्मरण गराउन चाहन्छौं।

१.ग.    लोकतन्त्रका लिखित वा अलिखित रुपमा रहेका अपरिहार्य र निर्विवाद मान्यताको खोजी गर्नु भन्दा पनि महाधिवेशन भनेको नेतृत्वको चयन (निर्वाचन) गर्ने जिम्मेवारीपूर्ण तथा गौरवमय अवसर हो। तर महाधिवेशनको तिथि निश्चित भइसकेपछि विभाग गठन तथा थप, पद सृजना तथा नियुक्ति पार्टी विधान र आचारसंहिताको ठाडो उल्लङ्घन हो भन्ने हाम्रो ठहर छ। महाधिवेशन सुसम्पन्न गर्ने उद्देश्य र प्रयोजनको लागि र महाधिवेशनसम्मको लागि मात्र पार्टीमा नयाँ अवयव र संयन्त्र निर्माण गर्न सकिन्छ। तसर्थ, हालै गठन गरिएका केन्द्रीय विभागलाई हामी स्वीकार गर्दैनौं र सहयोग नहुने ब्यहोरा सभापतिज्यूमा अवगत गराउन चाहन्छौं।      

२. क्रियाशील सदस्यता वितरण सम्बन्धमा

–    गत तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्य श्री नरहरि आचार्य संयोजकत्वको समितिले तेह्रौं महाधिवेशन सम्पन्न भएपछि प्रकृया पु¥याई दिने भनेर राखिएका क्रियाशील सदस्यता समावेश गर्ने बारे के प्रकृया थालियो ? वा के हुँदैछ ? पार्टीले शुल्क बुझेर दर्ता गरिएकाहरूलाई प्रकृया पूरा गराई सबैलाई पार्टी प्रणाली अनुरुप सदस्यता दिन पार्टीका सबै निकायहरूमा तुरुन्त पठाउने काम होस्। कतै क्रियाशील सदस्यता गैसकेको भन्ने पनि जानकारीमा आएको छ। समायोजन टुङ्गिएका कतिपय जिल्लामा समेत सदस्यता नपठाउने पक्षपातपूर्ण काम बन्द होस्।

–    पार्टीको विधानको धारा ४ (१०) (ङ) बमोजिम अन्य राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्ति जुन तहको पदीय दायित्व र जिम्मेवारीमा कायम रहँदा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको हो, पार्टीको सोही तहको कार्यसमितिले निर्णय गरी त्यस्तो व्यक्तिलाई नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्न आफू माथिको निकाय मार्फत् केन्द्रीय कार्यसमितिलाई सिफारिश गर्नेछ। यसरी नेपाली कांग्रेसमा प्रवेश गरेको व्यक्तिलाई कुनै पनि तहको विशेष पद सिर्जना गरी जिम्मेवारी दिनु पर्ने अवस्था भएमा सम्बन्धित तहको सिफारिशमा केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गरी जिम्मेवारी दिन सक्नेछ। केन्द्रीय कार्यसमितिले त्यस्तो अधिकार मातहत निकायलाई प्रत्यायोजन  गर्न सक्नेछ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पार्टी प्रवेशका सिलसिलामा नेपाली कांग्रेसमा  प्रवेश गरेका विभिन्न तहका व्यक्तिहरुका सम्बन्धमा हचुवाको भरमा ‘केही सदस्य’, ‘यति सदस्य’, ‘यति हजार सदस्य’, ‘त्यस जिल्लाको कुल सदस्यभन्दा कम’, भन्नेजस्ता अस्पष्ट तथा अमूर्त कुरा लेखी, फोरम लोकतान्त्रिक संगको समायोजन हेर्ने भनी बनाएको समितिले केन्द्रमा पेस गरेको भन्ने कुरा जानकारी आएको छ। पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका साथीहरूलाई वडा, क्षेत्र र जिल्लामै वहिस्कृत गराउने वा उहाँहरूको मनोबल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन।

–    राष्ट्रिय पहिचान बोकेका सीमित व्यक्तिहरूका लागि बाहेक क्रियाशील सदस्यता वितरण पार्टी विधानले तोकेको वडाबाटै हुनुपर्छ। माथिबाट थोपर्ने हैन। विधान, प्रक्रिया र परम्परालाई मिच्ने कार्य स्वीकार्य हुनसक्दैन। हाम्रो पार्टीको लामो इतिहासमा विभिन्न पार्टीका नेताहरू नेपाली काँग्रेसमा प्रवेश गरे, तर आज आएर जुन परम्पराको थालनी हुन लागेको छ, अमुक व्यक्ति प्रवेश गर्दा यति हजारलाई क्रियाशीलता सदस्यता दिने भन्ने कुरा पार्टी विधानको घोर उपेक्षका साथै परम्पराको विपरीत हो। साथसाथै समग्र पार्टीको साख, लोकप्रियता र गौरवमा धब्बा लगाउने कुरा हो भने स्थानीय नेतृत्व र कार्यकर्ताको मनोबल गिराउने उनीहरुलाई विस्थापित र  तिरस्कृत गर्ने प्रवृत्ति पनि हो।     

–    जिल्लामा पठाइएका क्रियाशील सदस्यताका फर्माहरू केन्द्रीय परिपत्र अनुसार जिल्ला पार्टी सभापतिले लगेर क्षेत्रीय सभापतिलाई र तलका निकाय प्रमुखलाई दिनुपर्ने व्यवस्था छ। तर कतिपय जिल्लामा विधान विपरीत मनपरी गर्न खोजेको जानकारी छ। क्रियाशील सदस्यताको वितरण वडा र गाउँस्तरीय वैधानिक व्यवस्था अनुरुप नै हुनुपर्छ। यसमा अन्यथा नहोस्। समायोजन सकिएका कतिपय जिल्लामा क्रियाशील सदस्यताको फर्म नपठाएको विषयमा समेत घोर आपत्ति छ।
३. स्थानीय तह समायोजन 
–    स्थानीय तहको समायोजन केन्द्रले तयार पारेको सर्वसम्मत निर्देशिका बमोजिम ते¥हौं महाधिवेशनको वरिष्ठताक्रम अनुसार सुरू नगरी कतिपय जिल्लाहरुमा आफू अनुकूल गर्न खोज्ने जिल्ला नेतृत्व र दवाव र प्रभावलाई वास्ता नगरी निर्वाचन समितिले निर्देशिकाको आधारमा लगातार काम गरिदिएको भए धेरै समयअघि नै समायोजन पूरा भै सक्थ्यो। अनावश्यक अल्झाउने र निर्देशिका मिच्ने काम हुन खोज्दा समस्या पैदा भएको छ र महाधिवेशनलाई नै प्रभाव पार्ने खालको गतिविधि भईरहेको छ। यसतर्फ तत्काल गंभीर पहल हुन जरुरी छ। समायोजनको काम जहाँ रोकिएको छ, निर्वाचन समितिले नै निर्देशिकावमोजिम निर्णय गरी टुंग्याइयोस्, र महाधिवेशनको कार्यतालिका प्रभावित हुन नपाओस्। 
उपर्युक्त आग्रहको ध्येय पार्टीलाई विधि, पद्धति, प्रक्रिया र परम्परालाई संयोजन गर्दै पार्टी विधानको अक्षर र भावनाअनुरुप संस्थागत, स्वच्छ, निष्पक्ष, पारदर्शी, र लोकतान्त्रिक मूल्य तथा मान्यतामा आधारित रहेर तोकिएको तिथिमा महाधिवेशन सुसम्पन्न गर्न हाम्रो आग्रह 
हो।   
४. भातृ–शुभेच्छुक संस्था 
हाम्रो जस्तो लोकतान्त्रिक पार्टीका भातृ र शुभेच्छुक संस्था विधान विपरीत हचुवा पाराले चल्न हुदैन। तिनका आवधिक निर्वाचन र नीति नियम स्पष्टसँग कार्यान्वयन हुनुपर्छ। पार्टी नेतृत्वकै आडमा कयौं भातृ संस्था विना अधिवेशन निष्क्रिय बसेका छन्। तिनको अधिवेशन यथाशीघ्र गराई सक्नुपर्छ। विधानको धारा १५ (१) (घ) बमोजिम भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित भई आउने केन्द्रीय महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने वैधानिक व्यवस्था भएकोले सोही बमोजिम मात्र प्रतिनिधित्व गराउन मिल्ने स्पष्ट गरिन्छ।  
५. विदेश स्थित जनसम्पर्क समिति 
विदेश स्थित जनसम्पर्क समितिहरूको स्थिति पनि भद्रगोल हुदैछ। कतै एकले अर्कोलाई निष्कासन गर्ने। केन्द्रको आड देखाएर थिचोमिचो गर्न खोज्ने, अनुशासनको डण्डा देखाएर दबाउन खोज्ने जस्ता प्रवृत्ति तत्काल वन्द गरियोस् र सबै जनसम्पर्क समितिहरूको विधिसम्मत अधिवेशन गराएर मात्र महाधिवेशनमा प्रतिनिधित्व गराइयोस्। 

धन्यवाद। जय नेपाल ! 


    डा. शशांक कोइराला    रामचन्द्र पौडेल
    महामन्त्री    नेता
    नेपाली कांग्रेस    नेपाली कांग्रेस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.