उपचार गराउँदै सकियो ८ लाख, जग्गासमेत बैंकमा

|

ओखलढुंगा : सिद्धिचरण नगरपालिका–११ का ओमबहादुर सुनुवार उपचार खर्च अभावमा छट्पटाइहेका छन्। ५३ वर्षीय सुनुवार घाटीको क्यान्सरबाट ग्रसित छन्। कृषि विकास बैंक ओखलढुंगामा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका उनलाई तीन वर्षअघि क्यान्सर भएको हो। 

उपचारपछि केही समय ठिक भएर जागिरमा समेत जान थालेका उनको समस्या फेरि बल्झिएको छ। घाउबाट पिप बग्न थालेपछि उनको रोग झन् जटिल बन्दै गएको छ। उपचारका लागि खर्च नजुटपछि कतै लैजान नसकिएको श्रीमती विष्णु कुमारीले बताइन्।

सुनुवारलाई कृषि विकास बैंकले गत जेठ महिनादेखि तलबसमेत दिन छाडेको छ। गरिबीकै कारण समयमै उपचार पाउन नसकेका उनी ओछ्यानमै थला परेका छन्। उनलाई उपचारका लागि पटक पटक काठमाडौं लगेर ८ लाखभन्दा बढी रकम सकिसकेको पत्नी विष्णुकुमारीले बताइन्। 

कार्यरत बैंकले पनि उनलाई करारमा राखेकाले केही गर्न नसकिने बताएको छ। विष्णु पनि खाद्य तथा व्यवपार कम्पनी लिमिटेड ओखलढुंगामा ज्यालादारी कर्मचारी हुन्। उनी कार्यालय गएका दिन दैनिक चार सय दरले पाउँछिन्, अन्य आम्दानी केही छैन उनीहरुको। 

ओमबहादुर स्वस्थ हुँदा निजी स्कुलमा पढेका उनका सन्तान हाल सरकारी विद्यालय जाने गरेका छन्। स्थायी घर खिजीदेम्बा गाउँपालिका–५ भएका सुनुवार १८ वर्षदेखि जिल्ला सदरमुकाम बस्दै आएका थिए। ३ वर्षअघि सिद्धिचरण नगरपालिका ११ गोरुमारेस्थित ससुरालीले दिएको २ रोपनी जग्गामा घर बनाएर बसेका उनले उक्त घर जग्गासमेत बैंकमा धितो राखेर उपचारमा खर्च गरिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.