२० दिनसम्म पहिरो पीडतको व्यवस्थापन हुन सकेन

|

म्याग्दी : धवलागिरि गाउँपालिका–६ मराङ नामरुकका बाढी पहिरोपीडित सुत्केरी महिलालाई खान र बस्न धौ–धौ भएको छ। गएको असार २६ गते बिहान भीषण वर्षासँगै आएको बाढीपहिरोमा परेर घरबास गुमाएका तीन जना सुत्केरीको बिजोग भएको छ। 

पहिरो गएको २० दिन बितिसक्यो तर सरकारले उनीहरुको उचित व्यवस्थापन गर्न सकेको छैन। उनीहरु मराङको राम्चेस्थित दलित कल्याण सेवा समाजको १ तले भवनमा आश्रय लिइरहेका छन्। 

जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्तिले उपलब्ध गराएको राहतको भरमा उनीहरु बसिरहेका छन्। ती सुत्केरीको अवस्था भने बिग्रँदै जान थालेको छ। उनीहरुले पर्याप्त पोषणयुक्त खानेकुरा पाएका छैनन्। 

उक्त भवनमा नामरुकका सविना विक, हरिमाया विक र गिरु विक छन्। उनीहरुलाई राम्चेका छिमेकीले सुत्न खाट दिएका सविनाका श्रीमान् सन्देशले बताए। सामान्य खानाको जोहो भए पनि सुत्केरीलाई पोषण नपुगेको उनले दुखेसो गरे। 

असार २६ गते पहिरो जाँदा सविना ५ दिनकी सुत्केरी थिइन्। गाउँ नै पहिरोको जोखिममा परेकाले कहाँ लगरे राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आएको धवलागिरी गाउँपालिकाका कार्यपालिका सदस्य तिलकुमारी केसी आफैंले गुनासो गरिन्। 

पहिरोका कारण मराङ नामरुकमा एकै घरका ४ जना र राम्चेमा पनि एकै घरका ४ जनासहित थप एक बालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.