विश्‍लेषक भन्छन् : कांग्रेसमा गुटबाट सभापति हुन खोजे

|
फाइल फोटो

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले १४ औँ महाधिवेशनको संघारमा छ। महाधिवेशन आउन करिब ७ महिना बाँकी रहेका बेला पार्टी सभापति शेरबहादुर देउवाले विभाग बढाएर मनोनीत गर्ने क्रम तीव्र पारेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष देउवाविरुद्ध खरोरूपमा उत्रिन थालेको छ। 

पौडेल पक्षका नेता डा. रामशरण महतले सभापति देउवा विधानविपरीत विभाग गठन गरेर अधिवेशन प्रभावित पार्ने र नतिजा आफ्नो पक्षमा पार्ने खेलमा लागेको आरोप लगाएका छन्। कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनामा विभाग गठन गरिसक्नुपर्ने उल्लेख छ। तर, ४ वर्षे कार्यकाल सकिएर थपिएको १ वर्ष सकिन पनि ६/७ महिना मात्र बाँकी रहेको र महाधिवेशनको मुखैमा एकपक्षीय ढंगले विभाग गठन गर्नु गलत प्रवृत्ति रहेको बताए। 

महाधिवेशन सकिएको ६ महिनामा गठन गर्नुपर्ने विभाग सभापतिको ४ वर्षे कार्यकाल सकिएर थपिएको एक वर्षसमेत सकिन लागेका बेला गठन र विस्तार गर्नु भनेको पद दिएपछि अधिवेशनमा समर्थन गर्लान् भनेर हो।’ थाहा खबरसँग कुरा गर्दै महतले भने, ‘अर्को चाँहि महाअधिवेशनको मिति तोकिसकेपछि विभाग गठन गर्नेदेखि मनोनीत गर्नेसम्मका काम गर्नु आचारसंहिताविपरीत हो।’ 

राष्ट्रिय निर्वाचनको घोषणा गरिसकेपछि कुनै पनि सरकारले नयाँ नियुक्त गर्न पाइने व्‍यवस्था नरहेको उल्लेख गर्दै उनले सो व्‍यवस्था पार्टीको महाधिवेशनमा पनि लागू हुने बताए।   यसअघिको कार्यकायमा सुशील कोइराला सभापति हुँदा ३ वर्षपछि विभाग विस्तार गर्दा अहिलेका सभापति देउवाले नै भंग गरिदिएको स्मरणसमेत गरे। सबै ध्यान महाधिवेशन केन्द्रित हुनुपर्ने बेला पार्टीमा अनुशासन समितिले लामो समय योगदान गरेका कतिपय नेताहरूलाई कारबाही गरिएकोमा भने उनको असन्तुष्टि छ। 

चेतावनी दिए पुग्‍नेमा कारबाही गरियो

गल्ती गर्ने नेता कार्यकर्तालाई एकपटकलाई चेतावनी दिँदा हुनेमा पार्टीबाटै निष्कासन गर्नुमा आफ्नो असहमति रहेको उनले बताए।

‘म त पार्टीका पुराना नेताहरूलाई निकाल्ने पक्षमा थिइनँ, कसैले गल्ती गरेको भए पनि चेतावनी दिन सकिन्थ्यो, तर पार्टीबाट निकाल्नु हुँदैनथ्यो’ उनले भने।

गोविन्दराज जोशीलाई पार्टीबाटै निकाल्नु नहुने तथा पुस्कर ओझालाई कारबाही गर्न आवश्यक नै नरहेको उनको बुझाइ छ। उनले भने, ‘त्यसैले यी दुवै पात्रलाई हेर्दा चित्त बुझ्दो ढंगले कारबाही भएको मैले पाएको छैन।’
तर, कारबाही गरिएकालाई स्वीकार नगर्ने हो भने पुनरावलोकन गर्न सकिने नेता महतले बताएका छन्।

‘अनुशासन समितिमा कारबाही गरेका कतिपय नेतालाई केन्द्रीय समितिले पुनरवलोकन गर्न सक्छ, महतले भने ‘त्यसका लागि केन्द्रीय समितिमा उहाँ (कारबाहीमा परेका) हरुले उजुरी हाल्नुपर्छ, त्यसका लागि म आवाज उठाउन तयार छु।’

पौडेलकै कारण ४ वर्षसम्म विभाग गठन हुन सकेन

देउवा पक्षका नेता मीन विश्वकर्मा भने वरिष्ठ नेता पौडेलकै कारण पूरै कार्यकाल भरी विभाग गठन हुन नसकेको बताउँछन्। ‘यो गर्नुपर्थ्यो पहिले नै तर उहाँलाई अत्यन्तै अप्ठेरोमा पारियो, सभापतिले त पहिलो दिन नै पौडेललाई नै मनोनीत गर्ने दिन सबै विभागमा मनोनीत गर्न चाहनुभएको थियो तर उहाँ (पौडेल पक्ष)ले त्यो दिन दुई चार दिनपछि गरौं भन्नुभयो, त्यसपछि नाम माग्नु भो त्यसपछि अर्को बैठक, अर्को बैठक, चुनाव अनि के–के गर्दा गर्दै अब उहाँ (देउवा) लाई महाधिवेशनमा त्यत्तिकै पुर्‍याउने नेताहरुको लक्ष्य थियो तर सभापतिले गर्छु भन्नुभो र गर्न थाल्नुभाछ।’

विभाग गठन विधानविपरीत नभएको बरु महाधिवेशनमा प्रतिस्पर्धी नेताहरूले सभापतिलाई कमजोर पार्न यस्तो आरोप लगाइरहेको नेता विश्वकर्माले जिकिर गरेका छन्। 
‘विधानअनुसार पहिल्यै गर्नुपर्ने हो, तर ४ वर्षसम्म सहमति खोज्दा उहाँ(पौडेल) हरूले नमानेपछि सभापतिले आफ्नो भागमा परेका विभागमा मनोनीत गर्नुभएको हो’ उनले सुनाए।

तर, महाधिवेशन तोकिएकै मिति (फागुन)मा हुनेमा भने दुवै पक्ष ढुक्क देखिएका छन्। उनीहरूले कुनै भवितव्‍य घटना नभए निर्धारित मितिमै महाधिवेशन हुने बताएका छन्। 

कांग्रेसमा गुटबाट सभापति हुने तयारी देखिन्छ
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य अहिले कांग्रेसमा नेताजस्तो नभएर गुटबाट सभापति हुने तयारी देखिएको बताउँछन्। अहिलेसम्म देखिएकामध्ये कोहीमा पनि नेताजस्तो भएर उम्मेदवारी दिने क्षमता राखेको देखिँदैन, सबै प्राविधिक रूपले पार्टीभित्रको उछाटपछाटबाट, साम, दाम, दण्ड भेद गरेर भए पनि जित्न प्रयत्नरत रहेको जस्तो देखिन्छ। त्यसमा सबैभन्दा ठूलो भूमिका सभापतिले खेल्दैछन्, उनले भने, ‘त्यसको उदाहरणको रुपमा सुनिल थापाको प्रवेश र क्रियाशील सदस्यलाई लिन सकिन्छ।’ 

आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने सम्भावना भने नरहेको उनको विश्लेषण छ। ‘अहिलेका रुलिङ सभापति रहेका देउवा साम, दाम, दण्ड भेद जानेका र डाडु पन्यू हातमै भएका उम्मेदवार हुने र संस्थापनविरोधी खेमामा पाँचै जना (रामचन्द्र, शेखर, सिटौला, सिंह र शशांक) सबै सभापतिको आकांक्षी देखिएकाले बाजी मार्ने देउवाले नै हो। उनले भने, ‘देउवा गुटमा उनलाई मान्ने र नेतृत्व स्वीकार्ने प्रवृत्ति छ अर्को पक्षमा त्यस्तो छैन।’

उनले सबैलाई जोडेर कांग्रेसलाई बलियो बनाउनुपर्ने बेला पार्टीभित्र योगदान गरेकाहरूलाई कारबाहीको डण्डा देखाएर निष्‍कासन गर्नु भने गलत रहेको उनले बताए। 
‘हरिबोल भट्टराईले खोलेको विश्वेश्वर कांग्रेसदेखि अरू नै पार्टीमा गइसकेको मधेसवादीहरू, कांग्रेससँग विरक्तिएका लगायतलाई ल्याएर कांग्रेसलाई बलियो बनाउनुपर्ने बेला पार्टीमा योगदान गरेका नेतालाई कारबाहीको डण्डा देखाएर निष्‍कासन गर्नु गलत हो। उनले भने, ‘गत निर्वाचन भुलिसकेको र अर्को निर्वाचन आउनै लागेका बेला यसरी गलत सन्देश जानेगरी सभापतिजीले कैलालीमा आफ्नो श्रीमतीको सुरक्षा गर्नुभएको छ यो गलत छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.