|

पर्सा : पर्सामा फेरि ४६ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमित मध्ये १३ जना आफै शुल्क तिरी परिक्षण गराउने परेका छन्। उनीहरु स्थानीय विभिन्न औषधी उद्योगका श्रमिक पनि रहेको नारायणी अस्पतालले जनाएको छ। 

बिहीबार राति थपिएका संक्रमितहरु पहिले संक्रमित भएका व्यक्तिको कन्ट्याक ट्रेसिङ्गबाट स्वाब संकलन गरिएका, आफै शुल्क तिरेर परीक्षण गराउन आएका र स्वास्थ्यकर्मीसहित भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए। संक्रमितहरुलाई राख्ने अस्पतालको भने अभाव भइरहेको उनको भनाइ छ । 

‘संक्रमितहरुको अवस्था हेर्दा संक्रमण समुदायमा पुगिसकेको प्रष्ट छ,’ उनले भन, ‘न्यूनिकरण कसरी गर्ने भन्ने चिन्ता थपिएको छ।’

सय बढि बिरामी होम आइसोलेसनमा 

हरेक दिन कोरोनाका संक्रमित बढ्ने र मृत्यु हुने क्रम चलिरहेको पर्सामा कोभिड अस्पतालमा बिरामी नअटेपछि १ सय भन्दा बढि होम आइसोलेशनमा नै छोडिएको छ। 

५० बेडको कोभिड विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितको उपचार भइरहेको छ। तर पर्सामा संक्रमित भएर निको हुन बाँकी संक्रमितको संख्या १ सय ८४ छ। 

यो संख्या मध्ये १५⁄२० जना सेमी आइसोलेशन बनाएको सिद्धार्थ मा.वि.मा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए। यो बाहेकका सबै संक्रमित आ–आफ्नो घरमा नै आइसोलेशनमा राखिएको छ। 
घरमा नै छोडिएका संक्रमितलाई बिहान र बेलुका स्वास्थ्यकर्मी पुगेर घरमा भए नभएको निगरानी गरिने वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले बताए। संक्रमित भएका व्यक्ति राखिएका घरमा बाहिर सूचना टाँस गर्न थालिएको उनको भनाइ छ। बिहिबार बेलुका सम्म ४१ वटा घरमा सूचना टाँस गरिसकिएको उनले बताए। 

हेल्थ केयर हस्पिटल विशेषको कोभिड हस्पिटल बन्ने

वीरगन्जको गण्डकमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटल कोरोनाका संक्रमितको उपचार गर्ने हस्पिटल बन्ने भएको छ। वीरगन्ज क्षेत्रमा कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढेर मृत्यु हुने क्रम रहेपछि हस्पिटलका संचालकले कोरोनाका बिरामीको उपचार गर्न दिने भएका छन्। यो निर्णयले गण्डकमा रहेको गण्डक अस्पताल पछि अर्को गण्डकमा नै रहेको वीरगन्ज हेल्थ केयर अस्पताल कोभिड विशेष अस्पताल बन्ने बाटो खुलेको हो।

जिल्ला स्थित संकट व्यवस्थापन केन्द्र पर्साले पनि आवश्यक प्रकृया पूरा गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरी पठाएको जनाएको छ । सम्भवतः आज भोलीसम्ममा नै माथिबाट स्वीकृति आउँछ भन्ने अपेक्षा गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.