|

पर्सा : मुलुककै आर्थिक नगरी कहलिएको वीरगन्जमा अवस्थित आन्तरिक राजस्‍व कार्यालय पर्साले गएको आर्थिक वर्षको राजस्‍व लक्ष्य भेट्न सकेन। आन्तरिक राजस्‍व कार्यालय पर्साको गएको वर्षमा ४१ दशमलव २७ प्रतिशत लक्ष्य भेट्न नसकेको हो।

मुख्य तीन शीर्षकमा मूल्य अभिवृद्धि करतर्फ भने अघिल्लो आर्थिक वर्षभन्दा ४८ प्रतिशत बढी राजस्‍व संकलन गरे पनि कुल लक्ष्यमा भने ४१ दशमलव २७ प्रतिशत कम राजस्‍व संकलन भएको आन्तरिक राजस्‍व कार्यालय पर्साले जनाएको छ।

आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क गरी मुख्य तीन शीर्षकमा राजस्‍व संकलन हुन्छ। राजस्‍व कार्यालयको आयकर र अन्त:शुल्कमा लक्ष्य नपुग्दा कुल लक्ष्यमा नै प्रभाव परेको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख सुनिल कुमार यादवले थाहा खबरसँग बताए। 

मुख्य तीन शीर्षकमा मूल्य अभिवृद्धि करको मात्र लक्ष्य हेर्ने हो भने लक्ष्यभन्दा १० दशमलव ८५ प्रतिशत बढी राजस्‍व संकलन भएको छ। मूल्य अभिवृद्धि कर शीर्षकमा राजस्‍व विभागले दिएको लक्ष्य १ अर्ब ६० करोड ८८ लाख १६ हजारमा १ अर्ब ७८ करोड ३३ लाख ७३ हजार राजस्‍व संकलन भएको छ।

यता, आयकर शीर्षकमा लक्ष्यको ८० दशमलव ७५ प्रतिशत र अन्त:शुल्क शीर्षकमा सबैभन्दा कम अर्थात् लक्ष्यको जम्मा ३९ दशमलव ९९ प्रतिशत मात्र राजस्‍व संकलन भएको तथ्यांकमा उल्लेख गरिएको छ। यो भनेको आयकरको लक्ष्य २ अर्ब २८ करोड ११ लाख ७२ हजारमा १ अर्ब ८४ करोड २१ लख ५८ हजार र अन्त:शुल्कको ७ अर्ब १४ करोड ३० लाख ७८ हजारको लक्ष्यमा जम्मा २ अर्ब ८५ करोड ६३ लाख २३ हजार मात्र हो। सबैभन्दा बढी लक्ष्य पनि अन्तःशुल्कमा हुनु र राजस्व पनि सोही शीर्षकमा कम संकलन हुनुले लक्ष्यमा जम्मा ५८ दशमलव ७३ प्रतिशत मात्र प्रगति भएको आन्तरिक राजस्‍व कार्यालय वीरगन्जका प्रमुख यादवले बताए।

तीन शीर्षकमध्ये आन्तरिक राजस्‍व कार्यालयको अन्तःशुल्क नै राजस्‍व संकलनको प्रमुख आधार मानिन्छ। मुख्य राजस्‍व संकलनको समयमा नै कोरोनाको कारण लकडाउन भएपछि राजस्‍व संकलनमा प्रभाव पर्‍यो कार्यालय प्रमुख यादवले तर्क गरे। ‘यो अवधिमा अन्तःशुल्क शीर्षकमा मात्र ३ अर्ब ७७ करोडको राजस्‍व संकलन गर्ने अपेक्षा गरेका थियौं’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.