|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाभित्र रहेका विद्यालयहरू भदौ १ गतेबाट सञ्चालनमा आउने भएका छन्। नगर प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा शुक्रबार बसेको प्याब्सन, एन प्याब्सन, इशानलगायत संस्थाकोे संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकमा नगर प्रमुख चालिसेले विद्यार्थी भर्ना कार्यक्रम अगाडि बढाउने र अवस्था सामान्य भएमा भदौ १ गतेबाट विद्यालय सञ्चालन गर्ने बताए। उनले भने,‘आजको समयमा भन्ने हो भने सार्वजनिक गाडी,पसल लगायत खुलेका छन। अझै समय छ। त्यसैले स्थिति समान्य भएमा भदौ १ गतेबाट विद्यालय सञ्चालन आउँछ। स्वास्थ्य सुरक्षाको मापदण्ड भने अपनाउनुपर्ने छ।’
उनले विद्यार्थीलाई विद्यालयमा लाने र ल्याउने जिम्मा अभिभावकले लिनुपर्ने बताए। लामो समयको बन्दाबन्दीले विद्यार्थीहरू मोबाइलमा मात्रै झुन्डिने समस्या आएकोे पनि उनले बताए।

उनका अनुसार सो बैठकले विद्यालय भर्ना गराउनुपर्ने, विद्यार्थीहरूलाई सामान्य रुघाखोकी  वा सामान्य ज्वरोको लक्षण  देखिएमा सो अवधिभर विद्यालय नपठाउने, विद्यार्थी प्रवेश गर्ने गेटमा थर्मल गन र स्यानीटाइजर राख्‍ने, कक्षाकोठामा  एक बेन्च एक विद्यार्थी मात्र रहनेगरी सामाजिक दूरी कायम गर्ने,विद्यालयमा भिडभाड नगराउने निर्णय गरेको छ।

त्यस्तैगरी, सानो–सानो  समूह वा झुण्ड वा विषयगत समूह निर्माण गरी वैकल्पिक शिक्षण विधि सञ्चा‍लन गर्ने, शिक्षकको हकमा शिक्षकले भौतिक दूरी एवं स्वास्थ्य सुरक्षा विचार गरी वैकल्पिक शिक्षण  कार्यक्रम सञ्चा‍लन गर्ने, प्रत्येक विद्यार्थीहरूले आफूलाई चाहिने मास्क र फेस सिल लगाउनेलगायत निर्णय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.