|

भद्रपुर : झापामा ३५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। काँकडभिट्टा नाकामा खटिएका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सशस्त्र प्रहरीको सङ्ख्या ३५ पुगेको हो। 

शुक्रबार मात्रै जिल्लामा १३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय झापाले जनाएको छ। जिल्लामा सङ्क्रमितको सङ्ख्या ३ सय ६९ पुगेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत १० पुरुष, दुई महिला सशस्त्र प्रहरी र  होम क्वारेन्टाइनमा बसेका अर्जुनधारा नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

सङ्क्रमितमध्ये पुरुषलाई मोरङको गोठगाउँ र महिला सशस्त्रलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको छ। यसअघि  पनि काँकडभिट्टास्थित सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती गुल्मका २०, सशस्त्र प्रहरी पाथीभरा गण पाडाजुँगीका ३ जनामा कोरोना भेटिएको थियो। 

सीमा नाका मेचीनगर नगरपालिकामा समुदायमा कोरोना फैलिने त्रासका कारण पाँच दिनअघि काँकडभिट्टाका सुरक्षाकर्मीसहित १ सय १७ जनाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाइएको थियो। 

त्यसमध्ये १२ जना सशस्त्रमा कोरोना रिपोर्ट पोजेटिभ आएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए। जिल्लामा सङ्क्रमितमध्ये ३११ जना  निको भएर घर फर्किसकेका छन्। 

यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाले पनि भद्रपुर सीमा क्षेत्रमा खटिएका १० सशस्त्रसहित ५५ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाएको छ। उनीहरुको रिपोर्ट शनिबार आउने जनाइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.