|

संखुवासभा : संखुवासभाको मकालु र भोटखोला गाउँपालिका रहेको लोअर बरुणसहित ४ वटा हिमताल जोखिममा रहेको पाइएको छ।

संखुवासभाका १०४ वटा हिमतालहरू मध्ये ४ वटा हिमताल जोखिममा रहेको पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिक डा. बहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मकालु आधार शिविरभन्दा तल रहेको लोअर बरुण हिमताल र भोटखोलामा गाउँपालिकामा रहेको एक हिमताल उच्च जोखिममा रहेको छ। संखुवासभाका ४ र तिब्बतका १७ वटा हिमताल खतरामा रहेको डा.श्रेष्ठले बताए।

तिब्बतमा रहेका १७ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको छ। डा.श्रेष्ठका अनुसार १.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोअर बरुण हिमतालको लम्बाई २.७ किलोमिटर र चौडाई ६०० मिटर फराकिलो रहेको छ।

तत्काल बरुण नदीको बहाव पुरानै बाटो फर्काउन सके लोअर बरुण हिमताल फुट्नबाट जोगाउन सकिने र यसका लागि सबै क्षेत्रले पहल गर्न पर्ने जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए। हिमतालले भविष्यमा पुर्‍याउनसक्ने जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्न चाँडै नै सरोकारवाला संघसंस्थाहरूसँग समन्वय गरेर  पहल कदमी चाल्न समन्वय समिति तयार रहेको उनले प्रतिवद्धता जनाए।

बरुण नदीभन्दा लोअर बरुण हिमताल तल भएकाले नदी तालमा जाने खतरा बढेको छ। यस हिमताल विस्फोट भएमा धनजनको निकै क्षति हुनसक्ने हिमताल पुगेर फर्किएका अरुण इन्जिनियरिङ प्रालिका प्रबन्धक ईसाक राईले बताए।

गहिराइ मापन गरी आवश्यकताअनुसार हिमतालको पानी बाहिर फाल्नुपर्ने कार्यक्रममा सहभागीहरूले बताएका छन्‌। अरुण तथा बरुण नदी किनारमा भएका वस्तीका बासिन्दाहरूलाई यसबारे सजग गराउन आवश्यक रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.