दुवै पक्षले नेता फकाउँदै, महासचिव पौडेलको प्रयास अलपत्र

|

काठमाडौँ : ​साउन १३ गते बोलाइएको सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक एकपक्षीय ढंगले स्थगित गरिदिएका अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सम्वाद नै टुटेको छ। 

पार्टीभित्र विवादकै बीच पनि प्रधानमन्त्री निवास बालुवाटारदेखि राष्ट्रपति निवाससम्म सँगसँगै पुगेका ओली र दाहालबीच साउन १३ गतेयता सार्वजनिक जानकारीमा आउनेगरी कुनै छलफल भएको छैन। यसबीचमा दुई नेताबीच सम्वाद समेत नभएको नेकपाका नेताहरूले बताएका छन्‌।

नेकपामा किचलो : ओलीले स्थगित गरेको स्थायी कमिटी बैठक दाहालले डाके

ओलीले स्थायी कमिटी बैठक स्थगित गरिदिएपनि सोही दिन बालुवाटारमै दाहाल-नेपाल समूहले बैठक राखेका थिए। सो बैठकमा ओली पक्षधर स्थायी कमिटी सदस्यहरू उपस्थित भएका थिएनन्‌ भने पूर्व माओवादी खेमाकै केही प्रभावशाली नेताहरू समेत सो बैठकमा गएका थिएनन्‌। 

​सो बैठकले ओलीसँग सहमतिको लागि अध्यक्ष दाहाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो। तर, विवाद उत्कर्षमा पुगिरहेको बेलामा ओली-दाहालबीच भेटवार्ता नै अनिश्चित बनिरहेको छ। 

शक्ति संघर्ष चलिरहेको बेलामा पार्टीभित्रको विवाद समाधानका लागि महासचिव बिष्णु पौडेलले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता र सहमतिको प्रयास गरिरहेका छन्। यद्यपी, महासचिव पौडेल पनि ओली निकट रहेकाले दाहाल-नेपाल पक्षले उनीमाथि त्यति भरोसा गरेको देखिएको छैन।

यहीबीचमा अध्यक्ष दाहालले शनिबार कम्युनिष्ट नेता तुलसीलाल अमात्यको स्मृति दिवसलाई सम्बोधन गर्दै पार्टी संकटमा पुगेको स्वीकारेका छन्‌। ‘पार्टीभित्रको आन्तरिक विवादले पार्टी अहिले पार्टी पुगिसकेको छ। एकता कायमै रहिरहला या नरहला भन्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘सरकारको नेतृत्व गरेको कम्युनिष्ट पार्टी फुटाउन षड्यन्त्र भइरहेको छ।’ 

अहिले पार्टीभित्र चलिरहेको छलफल र बहस पद प्राप्तिको लडाई‌ं नभएको समेत दाहालले दावी गरेका छन्‌। तर पार्टीभित्रको छलफलमा ओलीले पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने माग भइरहेको छ।​

आन्तरिक गृहकार्य तीव्र

पार्टीभित्र शक्ति संघर्ष चलिरहेको हुनाले दुवै गुटबीच आन्तरिक छलफल भइरहेको छ। मुख्यगरी प्रधानमन्त्री निवास बालुवाटार र अध्यक्ष दाहाल निवास खुमलटारमा नेताहरूको दौडधूप चलिरहेको छ। 

'पार्टीभित्रको समस्या समाधानका लागि बालुवाटार होस् या खुमलटार : दुवै नेताहरूले आफू निकटका नेताहरूसँग छलफल र परामर्श गरिरहेका छन्‌,’ अध्यक्ष दाहालनिकट एक नेताले भने, ‘सहमतिको प्रयासका लागि अनेक विकल्पमा छलफल भइरहेको छ। तर, अझैसम्म दुवै तर्फका नेताहरूले सहमतिको नजिक पुगेजस्तो देखिँदैन।’

पार्टीभित्र विवाद चलिरहेको बेलामा आन्तरिक हुनु सामान्य रहेको नेकपा प्रमुख सचेतक देव गुरुङ बताउँछन्। ‘अहिले पार्टीभित्रको समस्यालाई लिएर भेटवार्ता र छलफल चलिरहेका छन्। तर, मुख्य गरी अब कसरी अघि बढ्ने र सहमति गरेर एकता जोगाउने भन्नेबारेमा केन्द्रित हुनुपर्छ,’ उनले भने। 

गौतमको प्रस्तावमा ओली पक्ष सहमत

पार्टीभित्रको समस्या समाधान गर्न भन्दै उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्तावमा ओलीपक्ष सहमत देखिएको बताइएको छ। ओलीबाट आश्वासन पाउँदा मौन बस्ने र आफूलाई 'नगनेको' थाहा पाएपछि मोर्चाबन्दीमा उत्रने गरेका गौतमले ओलीलाई नै फाइदा पुग्नेगरी पछिल्लो प्रस्ताव अघि सारेका हुन्‌। यसअघि अध्यक्ष दाहाल पक्षलाई सघाइरहेका उपाध्यक्ष गौतमले ओली निकट रहेर प्रस्ताव ल्याएपछि दाहाल-नेपाल समूहमा पनि दबाव थपिएको छ। 

वामदेवको प्रस्ताव : पाँच वर्ष नै ओली प्रधानमन्त्री, एकता महाधिवेशनसम्म अध्यक्ष

उपाध्यक्ष गौतमले यो कार्यकाल पुर्ण रुपमा ओली प्रधानमन्त्री रहने र एकता महाधिवेशनसम्म कार्यकारी अध्यक्षमा दाहाल रहने प्रस्ताव गरेका छन्‌। तर, यस प्रस्तावमा ओली पक्षले सहमति जनाएपनि दाहाल पक्षले सहमत देखिएको छैन।

‘प्रस्ताव ल्याएकै दिन प्रधानमन्त्री ओलीले महासचिव लिएर उपाध्यक्ष गौतम निवास पुगेर सहमति गरे, उहाँहरूले आफ्नो फाइदा पुग्नेगरी सहमति गर्नुभएको छ,’ दाहाल निकट एकजना स्थायी कमिटी सदस्यले भने, ‘हामीले उहाँलाई त्यो प्रस्तावबाट पछि हट्न समेत भन्यौँ, तर उहाँले हाम्रो कुरा सुन्नुभएको छैन।’

एकताको पक्षमा बादल समूह 

पार्टीभित्रको विवाद र शक्ति संघर्षका क्रममा नेताहरूबीच तानातान भइरहँदा गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा 'बादल'ले पनि आफू निकटका नेताहरूसँग छलफल गरेका छन्। बिहीबार गृहमन्त्री थापाले पुल्चोकस्थित मन्त्री निवासमै आफ्नो समूहको भेला गरेका छन्। भेलामा गृहमन्त्री थापा निकटका दुई दर्जनभन्दा बढी नेताहरूको सहभागिता रहेको थियो। 

‘पार्टी संकट पुगिसकेको छ, त्यसलै हामीहरूले पनि आफ्नो धारणा सामूहिक रुपमा राख्नुपर्छ, संकटको बेलामा पार्टी जोगाउनु अहिलेको प्राथामिकता हो,’ गृहमन्त्री थापाको भनाईलाई उद्धृत गर्दै एक नेताले भने, ‘हामीले पार्टीभित्रको विवाद समाधानका लागि आन्तरिक संघर्षमा जुधेर हुँदैन, समाधानको विकल्पमा सहयोग पुर्‍याउनुपर्छ।’

‘वामदेव र बादलका कारण फेरियो नेकपाको शक्ति सन्तुलन’

‘हामीले अहिलेको अवस्थामा पार्टीभित्रको समस्या समाधान गर्नका लागि प्रधानमन्त्री ओलीको पक्षमा लाग्नु राम्रो हुन्छ, तर पार्टी विभाजनको अवस्थामा पुगेमा हामीले पुरानै पक्षमा अडिनुपर्छ,’ आफ्ना पक्षका नेताहरूसँगको भेलामा बादलले बोलेका कुरा उद्धृत गर्दै एक नेताले भने, ‘हाम्रो ठोस निर्णय यही होइन, तर अहिलेको अवस्थामा यसरी अघि बढ्दा उपयुक्त हुन्छ जस्तो लाग्छ।’

पार्टीभित्रको शक्तिको संघर्ष चलिरहेको हुनाले पूर्व माओवादी एकै ठाउँमा उभिनुपर्ने नेताहरूको भनाई राखेका थिए। पार्टीभित्रको विवाद समाधान गर्नका लागि प्रधानमन्त्री ओलीले गरेको अधिवेशनको प्रस्ताव पनि उपयुक्त भएकाले महाधिवेशन लक्षित गरेर रणनीति तयार गरे अघि बढ्नुपर्नेमा जोड दिए। पाटीलाई विधि र पद्धतिबाट चलाएर सरकार र पार्टी बीचको समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरूले सुझाएका थिए। 

नेता फकाउँदै दाहाल

अध्यक्ष दाहालले पनि असन्तुष्ट भनिएका पूर्व माओवादी पक्षधरता नेताहरूसँग छलफल गरेका छन्। भेटवार्ताको क्रममा अध्यक्ष दाहालले पार्टी एकताको पक्षमा रहेकाले साथ दिन आग्रह गरेका छन्। 

‘पार्टी एकतालाई मजबुत बनाएर अघि बढ्नका लागि कसो गर्दा राम्रो हुन्छ भन्ने विषयमा पनि परामर्श लिनुभएको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘अहिलको अवस्थामा पार्टी एकतालाई जोगाउने विषयलाई नै मुख्य एजेण्डाको रुपमा लिन हामीले आग्रह गरेका छौँ, महाधिवेशनको कुरा पनि उठेकाले अहिले सहमतिमा अघि बढ्दा उपयुक्त हुने कुरा सुझायौँ।’ 

दाहाल-नेपाल समूहका १ सय ५२ केन्द्रीय सदस्यले बैठक माग गर्दै बुझाए हस्ताक्षर

हाल गुटगत समीकरणको हिसाब गर्दा पार्टी नै दुर्घटनामा पुग्न सक्ने ती नेताले बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनपछि एक पद छाड्ने कुरा गर्नुभएकै छ, त्यसैले सहमतिमा अघि बढ्दा राम्रो हुने कुरामा हामीले जोड दिएका छौँ,’ ती नेताले थपे, ‘शक्ति समीकरणमा केन्द्रीत भइरहँदा पार्टी दुर्घटनामा पुग्नसक्ने कुरामा अध्यक्ष दाहाल आफैं पनि स्पष्ट हुनुहुन्छ।’

पार्टीभित्रको समस्यामा छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए। ‘हामीले अध्यक्ष दाहालसँग छलफल गरेपछि कसरी अघि बढ्दा पार्टी एकता हुन्छ, त्यसरी नै अघि बढ्नुपर्नेमा सुझाव दिएका छौँ,’ उनले भने, ‘अहिले हामीले पार्टी एकता चाहेका छौँ, एकता जोगाइ राख्नुपर्नेमा जोड दिन्छौँ।’

अध्यक्ष दाहालले बिहीबार पूर्वमाओवादी पक्षधर असन्तुष्ट नेताहरू मणि थापा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, चक्रपाणी खनाल लगायतका नेताहरूलाई खुमलटारमा बोलाएर छलफल गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.