|

दाङ : कोरोना भाइरसका कारण गत चैतदेखि बन्द भएका विद्यालयहाल सम्म सञ्चालनमा आएका छन्। तर दाङको एक स्थानीय तहले पहिलो पटक समुदायस्तरमै शिक्षक परिचालन गरी प्रारम्भिक रूपमा कक्षा सञ्चालन गरेको छ। 

लकडाउनपछि बन्द भएका पठन पाठनलाई सुचारु गर्न यस्तो अभ्यास थालिएको हो। संघीय सरकारले भनेअनुसार वैकल्पिक विधिबाट शिक्षण गर्दा प्रभावकारी नभएको पाइएपछि गाउँपालिकाले समुदायमै पुगेर ससानो समूह बनाएर स्वास्थ्य सुरक्षा अपनाएर कक्षा चलाउने निर्णय गरेको गाउँपालिका प्रवक्ता तथा सामाजिक विकास संयोजक विद्याशरण चौधरीले बताए। 

‘झण्डै एक महिना रेडियो, टेलिभिजनबाट कक्षा संचालन गरेका थियौँ,’ उनले भने, ‘त्योबाट प्रभावकारी नभएपछि फेरी प्रअहरुकोे बैठक बसी समुदायमा बसेर विद्यार्थीहरुको अवस्था बुझ्ने शिक्षकहरुलाई टोल टोलमा पठाई सामान्य रुपमा गृहकार्यदेखि कक्षा संचालन गर्ने निर्णय भएपछि सामुदायिक शिक्षा शुरु भएको हो।’

अहिले लकडाउन हटेको अवस्था भए पनि कोरोनाको जोखिम कायमै रहेकाले सुरक्षा समाग्री प्रयोग गरी आगामी भदौ १ गते सम्म पढाइ संचालन हुने संयोजक चौधरीले बताए। सामुदायिक र संस्थागत दुवै विद्यालयका शिक्षकलाई समुदायमा नै परिचालन गरी प्रारम्भिक रूपमा कक्षा सञ्चालन गरिएको छ। 

कक्षा सञ्चालन बिहान ७ बजे देखि १० बजेसम्म हुन्छ। बिहानको समयमा विद्यार्थीसँग रहँदा र विद्यार्थीलाई केही सिकाउन पाउँदा शिक्षक पनि निकै खुशी छन्। 

बन्दको समयमा टोलमा विद्यार्थी पढाउन पाउँदा विद्यार्थी मात्र नभई अभिभावकहरु समेत खुसी भएका बाल कल्याण आधारभूत विद्यालय राप्ती ५ पहरूवाकी शिक्षक कमला बिष्टले बताइन्। त्यसैगरी उनले विद्यालयको जस्तो सबै सेवा सुविधा दिई पढाउन नसके पनि विद्यार्थीहरु पढ्न पाउँदा खुशी भएको बताइन्।

लकडाउनका कारण विद्यार्थीहरु घरमै बस्दा उनीहरुले पढाइमा ध्यान नदिने भएकाले अभिभावकहरु चिन्तित भएका थिए। पढाइ सुरु भएपछि विद्यार्थीहरु खुसी भएका अर्का शिक्षक अनिस कुमार चौधरीले बताए। तर विद्यार्थीहरुले विद्यालयमा भन्दा समुदायमा पढ्दा अलि अप्ठेरो मान्ने गरेको उनले बताए। 

अभिभावकहरुले नै घरमै पढाउन व्यवस्था गरिदिएर आफूहरुले पढाउँदै आएको उनी बताउँछन्। गाउँपालिकामा सामुदायिक विद्यालय मात्र नभई संस्थागत विद्यालयले पनि सामुदायिक विद्यालयले जस्तै समुदायमै पुगेर कक्षा सञ्चालन गर्न थालेका छन्। हाल  गाउँपालिकामा २९ वटा सामुदायिक, १५ वटा संस्थागत र ३ वटा धार्मिक विद्यालय गरी ४७ विद्यालय रहेका छन्। गतवर्षको तथ्यांकअनुसार विद्यार्थी संख्या १५ हजार छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.