|

कैलाली : सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली र बझाङका ५३ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ।  २४ घण्टाको अवधिमा २ सय ८९ स्वाव परीक्षण गरिएको थियो। जसमा कैलालीका ३० र बझाङका २३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। 

संक्रमण पुष्टि भएका सबैलाई स्वाब संकलन गरेर रिपोर्ट नआउँदै होम क्वारेन्टाइनमा बस्न भन्दै घर पठाएको थियो।  कैलालीको गोदावरीका २७ जनालाई १२ गते स्वाब संकलन गरेर घर पठाइएको नगरपालिका स्वास्थ्य संयोजक दिल बहादुर कुवँरले जानकारी दिए। 

भजनी नगरपालिकामा भारतबाट आएका तीन जनालाई १३ गते स्वाब संकलन गरेर घर पठाएको र शनिबार रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य संयोजक कृति सिंह विकले बताए। उनले भजनी नगरपालिकामा क्वारेन्टाइन नभएका कारण होम क्वारेन्टाइनमै बस्न पठाउने गरेको बताए। 

यस्तै शनिबार नै बझाङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार एकै दिन जिल्लाका ५ स्थानीय तहका २३ जनामा संक्रमण पुष्टि भएको हो। मष्टा गाउँपालिकाका २ जना, छबिस पाथिभेरा गाउँपालिकाका ३ जना, दुर्गाथलीका ३ जना, थलारा गाउँपालिकाका १० जनामा र जयपृथ्वी नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण देखिएका अधिकांशलाई स्वाब संकलन गरेर घर पठाएको थियो। 

थलारा गाउँपालिकाका १० जना संक्रमितलाई १४ दिन क्वारेन्टाइनमा राखेर पिसिआरका लागि ९ गते स्वाब संकलन घर पठाएको थियो।  स्वाब झिकेको ८  दिनपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य संयोजक पदम बहादुर ओलीले जानकारी दिए। 

संक्रमित सबैको स्वाब सेती प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो। यसअघि शुक्रबार पिसिआर पोजेटिभ देखिएका बझाङ केदारस्युँ गाउँपालिका २५ जनालाई पनि १४ दिन क्वारेन्टाइनमा राखेर स्वाब झिकी १ हप्ताअघि घर पठाइएको थियो। यसरी क्वारेन्टाइनबाट सीधै घर पठाउने गरेको कारण संक्रमण समुदाय स्तरमा फैलिने खतरा बढेको छ।

सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ६ सय नाघ्यो

सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ६ सय ९२ पुगेको छ। शनिबार थप १ सय ६८ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ६६ जना, बझाङका ५१ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका १ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ७०, अछाममा ७ सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका ३ सय ९, बैतडीका २ सय ९५, बझाङका २ सय ७५ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको छ। 

सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त हुनेको संख्या पनि क्रमशः बढिरहेको छ। हालसम्म सुदूरपश्चिममा ३ हजार १० जना निको घर फर्किसकेका छन्। भने ९ जनाको मृत्यु भएको छ। ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी संक्रमित आफ्नै घर आइसोलेसनमा रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.