|

काठमाडौं : लकडाउन खुलेयता उपत्यका लगायत देशभर कोरोना संक्रमण बढ्दै गएपछी समुदायमा त्रास बढ्दै गएको छ।  बिरामी तथा समुदायको सुरक्षामा खटिएका फण्टलाईन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना संक्रमणको ग्राफ उकालो लागेपछी विज्ञहरुले देशमा एक पटक लकडाउन गर्नुपर्ने बताएका छन्।

जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेले यो भयावहलाई न्यूनिकरण गर्न कर्फ्यु वा लकडाउन गर्नु पर्ने सुझाव सरकारलाई दिएका छन्। 'काठमाडौं उपत्याका, काठमाडौं आउने बाटोका क्षेत्र, भारतसँग सिमाना जोडिएका जिल्लाहरु तथा संक्रमण फैलिएका पहाडी जिल्ला तथा अन्य ठूलो जनघनत्व भएका सहरमा १५ दिन कर्फ्यु लगाउनु जरुरी छ। पुरानो मोडेलको लकडाउनले अहिलेको स्थितिलाई धान्न सक्दैन', उनले भने, '१५ दिन कर्फ्यु लगाउँदा आवतजावत बन्द हुन्छ, संक्रमित या निको हुन्छन् या अस्पताल जान्छन् तर स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन्।'

उनले  पश्चिम बङ्गाल र उत्तर प्रदेशसँग जोडिएका केही जिल्लामा सामुदायिक संक्रमणको पूर्वरुप देखा परेको बताए। 'विराटनगर, इटहरी, कपिलवस्तु, कैलाली पहाडी जिल्ला बझाङ, दैलेखलगायत जिल्लाहरु क्लस्टर अफ केसेसबाट अघि बढ्दैछन्। इलाम, स्याङ्जा लगायतका जिल्लामा दर्जनौं प्रहरीमा संक्रमण देखिएको छ। संक्रमित क्षेत्रबाट सुरक्षित ठाउँ खोज्दै काठमाडौं उपत्याका लाखौँ व्यक्ति भित्रिएका छन्', उनले भने।

हाल काठमाडौं उपत्यका भित्र कोरोना संक्रमणको दर वृद्धी भइरहेको छ। नेपाल प्रहरीको केन्द्रिय मुख्यालयमा मात्र ८३ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ। जसमध्ये ट्राफिक प्रहरीका २ जनालाई पनि कोरोना देखिएको छ। जसले गर्दा महानगरिय ट्राफिक महाशाखा सिल गरिएको छ। प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार देशभर  अहिलेसम्म २ सय ५३ प्रहरीलाई कोरोना देखिएको छ।
उपत्यकामा  सशस्त्र प्रहरीका १ जना लगायत  देशभर सशस्त्र प्रहरीमा कार्यरत  १ सय ३१ जनामा कोरोना पुष्टी भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिएका छन्।  सेनामा पनि कोरोना संक्रमण देखिएको छ। देशभर नेपाली सेनामा पनि कोरोनाको प्रभाव परेको छ। सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले हाल देशभर ९८ जनामा कोरोना देखिएको जानकारी दिए।

कोरोना बिरामी आइसोलेसनबाट आइसियु तर्फ

उपत्यकामा सुरुवाती चरणमा कोरोना संक्रमित सामान्य रहेपनि अहिले बिरामिहरु आइसियूमा उपचार गर्नुपर्ने देखिएको छ। ललितपुरको पाटन स्वास्थ्य विज्ञानमा ७ जनालाई आइसियुमा राखी उपचार भइरहेको छ। १ जनालाई भेन्टिलेटरमा राखिएको र अन्य ३ जनालाई आइसियुमा राखि उपचार गरिरहेको अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माले जानकारी दिए। उनले भने,’ एक जनाको अवस्था गम्भीर छ।

 अन्यको अवस्था सामान्य रहेको छ। उनका अनुसार अन्य ३ जना अर्को रोग लागि आइसियुमा उपचाररत छन्। शसस्त्र प्रहरीको बलम्बु अस्पतालमा १ सय ३ कोरोना संक्रमितको उपचार भइरहको छ। उपचाररत कोही कसैलाई पनि आइसियुमा नराखिएको सशस्त्र प्रहरीका प्रवक्ता अर्यालले जानकारी दिए। उनका अनुसार ६० जना नेपाल प्रहरी,नेपाली सेनाका २,शशस्त्र प्रहरीका १ र ४० जना सर्वसाधारण नागरिक छन्। उनले भने,’ अहिलेसम्म कसैलाई पनि आइसियुमा राखेर उपचार गरिएको छैन। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।‘

उपत्यका छिर्ने नाकामा कडाई

उपत्यका छिर्ने नाकामा कडाई गरिएपनि सर्वसाधारण उपत्यका छिर्ने क्रम भने रोकिएको छैन। उपत्यकाका तिन नाका मध्ये जगातीमा पनि कडाई गरिएको छ। जगाती महानगरीय प्रहरीका प्रहरी उपरीक्षक चक्रराज जोशीले गृहको आदेशपछी सवारी पनि उपत्यका छिर्ने क्रम कम हुदा आएको बताए। उनले भने, 'पहिले ५ सयको हाराहारीमा उपत्यका छिर्ने गरेपनी अहिले कम हुदैँ आएको छ। शुक्रबार ३ सय सवारी उपत्यका छिरेपनि शनिबार भने २ सय ५० हाराहारिमा मात्र उपत्यका प्रवेश गरेका छन्।'

तर, निश्चित ठाउँसम्म सवारीमा आएर पैदल आउनेहरुको संख्या कम नभएको एक  त्यहाँ खटिएका प्रहरी अधिकारीले जानकारी दिए। 'पैदलमार्पत डाडाँकाडाँबाट पनि उपत्यका छिर्नेहरु हुनुहुन्छ। उनीहरुलाई रोक्न भने असहज छ', ति प्रहरीले भने।

यस्तै, फर्पिङमा भने कडाई गरिएकोले कुनै नागरिक उपत्यका नछिरेको  फर्पिङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनु लामा बताउँछिन्। ' जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा यो क्षेत्रबाट बिना पास उपत्यका छिर्न दिएका छैनौं। पछिल्लो समय गृहको आदेश पश्चात् हामीले यसलाई थप कडाई गरेका छौं', उनले भनिन्, 'पहिले पैदल आउनेहरु पनि हुनुहुन्थ्यो। हामीले उहाँहरुको आइडी चेक गरिरहेका छौं। यदी स्थानिय हो भने  दैनिक आवश्यकताको लागि हिड्न दिएपनि अन्य क्षेत्रका व्यक्तीलाई भने फिर्ता पठाएका छौं।'

उपत्यका छिर्ने मुख्य नाका थानकोटमा पनि अहिले सवारी आवागमनमा कमी आएको छ। थानकोट प्रहरीका अनुसार उपत्यका छिर्नेहरुमा कमि आएको हो। त्यहाँ कार्यरत एक प्रहरीले भने ' पैदलयात्रीहरुले उपत्यका छिर्न चोरबाटो अपनाएका छन्।'

नाकामा स्वाव संकलन

सरकारले काठमाडौँ उपत्यका  छिर्ने नाकामा पिसिआर टेस्ट गर्ने गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २०७७ साल श्रावण १० गते देखि २०७७ साल श्रावण १६ गते सम्म  १० हजार ८ सय २७ जनाको नमूना संकलन गरेको छ।  तर, विडम्वना पैदल उपत्यका छिर्नेहरुको कारण जोखिम थप बढेको हो। उपत्यका छिर्ने नाकामा कडाई गरेपनि पैदलयात्रु बनेर उपत्यका छिर्नेहरुको कमी नहुदाँ प्रहरीले दिनरात गरेको मिहिनेत खेर गएको छ।

 हरेक जिल्लाका नाकाहरुमा कडाई गरिए उपत्यकामा संक्रमित थपिएका छन्। संक्रमित थपिए पनि सरकार यसतर्फ गम्भिर देखिएको छैन। हरेक जिल्लाका नाकामा कडाई नगरि उपत्यकाका नाकामा मात्र यस्तो कडाई? थाहाखबरको प्रश्नमा  गृहका सहप्रवक्ता उमाकान्त अर्यालले  सुरक्षा र जनस्वास्थ्यको मापदण्ड अपनाएर हरेक जिल्ला खोलिएको बताए। 'यहाँ हरेक जिल्ला प्रशासनलाई अधिकार दिइएको छ। कहीकतै त्रुटी भए यसलाई थप कडाईका साथ हामी अगाडी बढ्छौं', उनले भने।

लकडाउन बारे छलफल भएको छैन : गृह

देशका विभिन्न क्षेत्रमा आंशिक तथा पूर्ण लकडाउन र निषेधज्ञा जारी गरिएको छ। तर, कोरोनाको उच्च जोखिम देखिएको काठमाडौं उपत्यकामा भने यसबारे कुनै निर्णय भएको छैन।

 हालसम्म काठमाडौं उपत्यकामा लकडाउन गर्नेबारे  कुनै छलफल नभएको सहप्रवक्ता अर्याल बताउँछन्। 'सरकारले पछिल्लो समय उपत्यका छिर्न बेलुका ७ बजेदेखी बिहानसम्म बन्द गरेको छ। यो भन्दा बढी हाल गृहले अन्य उपायबारे छलफल गरेको छैन', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.