|

पर्वत : शान्ति सुरक्षालाई मजबुत बनाउन गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ४ वटा भ्यान र २८ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूका लागि उपलब्ध गराइएका सवारी साधनहरूलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याललाई चाबी बुझाउँदै सवारीहरू हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएका सवारीमा ४ वटा पिक अप भ्यान, पल्सर मोटरसाइकल १८ वटा, टिभिएसका अपाचे मोटरसाइकल ५ वटा र बुलेट ५ वटा रहेका छन्। सवारी हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङले शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट उल्लेखनीय काम भइरहेको बताए। हस्तान्तरण गरिएका सवारी साधनहरूले प्रहरी काम कारवाहीमा चुस्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरूको मनोबल समेत वृद्धि हुने उनको विश्वास छ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता उल्लेख गर्दै प्रदेश सरकारले स्थापनाकालदेखि नै प्रहरी इकाईहरूलाई स्तर वृद्धि गरी साधन स्रोतले मजबुत बनाउन दृढ रहेको बताए।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रदेश सरकार प्रति आभार व्यक्त गर्दै सवारी साधनहरू प्रयोग गरेर प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो संवेदनशील जिम्मेवारी वहन गर्दै पारदर्शिता, जबाफदेहिता र व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.