फेरि सवारीसाधनमा जोरबिजोर र लकडाउनसम्म जाने तयारी

|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताएका छन्। 

सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए। न्यूज एजेन्सी नेपालका सम्वाददातासँगको कुराकानीमा मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवस्यक सबै सामग्रीलाई तयारी अवस्थामा राखेको बताए। 

‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं', उनले भने, 'यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्‍नुको अर्थ सामग्री पनि त्यही परिमाणमा चाहिने कुरालाई हामीले हेक्का राखेका छौं।’

६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए। अहिले सम्म ३ लाख ७० हजार भन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पुर्‍याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताए। 

‘प्रधानमन्त्रीले संसदमा बोल्दा नै जनसंख्याको दुई प्रतिशतलाई हामीले परीक्षणको दायरामा ल्याउँछौँ भन्‍नु भएको थियो', उनले भने, 'हामीले त्यसलाई ६ लाखको संख्यामा बुझेका छौं। पिसिआर प्रविधिबाट ६ लाखको परीक्षण गर्ने सामर्थ्यसहित रहने तयारीमा मन्त्रालय छ। अहिलेसम्म हामी ३ लाख ७० हजार भन्दा बढी नै छौं। यसले गर्दा ६ लाखसम्म गराउने तयारीसहित हामी बसेका छौं।

उनले परीक्षण नगरेका कारण रिपोर्ट कम भएको भन्‍ने कुरा सत्य नभएको बताए। तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दाबी नगरिएको समेत उनले बताए। सरकारले बनाएको मापदण्ड अनुसार नै परीक्षण भएको उनको दाबी छ। 

‘परीक्षण नगरेका कारण अथवा परीक्षण कम गरेको कारणले रिपोर्ट कम भयो भन्‍ने कुरा सत्य होइन। त्यो यथार्थमा आधारित छैन', उनले भने, 'यसको अर्थ पुग्नुपर्ने सबै ठाउँमा पुगेर हामीले गरेका छौं यो मेरो दाबी होइन। तर हामीले 'जे क्राइटेरिया' बनाएका छौं, अहिलेसम्म त्यसका आधारमा हामीले गरेका छौं।’

काठमाडौंमा नयाँ रणनीति

काठमाडौं उपत्यकामा संक्रमण फैलिएपछि मन्त्री ढकालले सरकार नयाँ रणनीति अनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताए। बाहिरी जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्‍वारेन्टाइनमा राख्‍ने, जोरबिजोर प्रणालीबाट गाडी चल्न दिने र पिसिआर परीक्षणको दायरालाई बढाएर जाने लगायत योजना रहेको उनले बताए। 

काठमाडौंमा सानो हेलचेक्र्याइँले कोरोनाको डढेलो लाग्न सक्ने बताए। 'हामीले पिसिआर परीक्षण बढाउँदै समुदायस्तरमा पनि स्वाब संकलन गर्नुपर्छ। काठमाडौंमा होम क्‍वारेन्टाइन र  स्थानीय क्‍वारेन्टाइनको ग्यारेन्टी गर्न सक्नुपर्छ', उनले भने, 'यदि त्यसो भएन भने यति सघन जनसंख्या रहेको काठमाडौंमा आगो सल्किने सम्भावना छ। यदि डढेलो लाग्यो भने निभाउने कुरा सम्भव हुन्‍न। अथवा अवस्था गाउँ या सानो सहरको भन्दा विस्फोटक हुन सक्छ।’

अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गएमा काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन्। 

‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्‍वारेन्टाइनमा राख्‍ने गरी व्यवस्थापनमा हामीले जोड दिनुपर्छ। दोस्रो गाडी पनि जोरबिजोर प्रणालीमा गइयो भने एक हदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ', उनले भने, 'अतिआवश्यक ठाउँमा हामीले पिसिआरका निम्ति स्वाब संकलन गर्ने निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तलसम्म जाने गरी लाग्नुपर्छ।'

उनले काठमाडौंमा सानो हेलचेक्रयाइँले कोरोनाको डढेलो लाग्न सक्ने बताए। 'हामीले पिसिआर परीक्षण बढाउँदै समुदायस्तरमा पनि स्वाब संकलन गर्नुपर्छ। काठमाडौंमा होम क्‍वारेन्टाइन र  स्थानीय क्वारेन्टाइनको ग्यारेन्टी गर्न सक्नुपर्छ', उनले भने, 'यदि त्यसो भएन भने यति सघन जनसंख्या रहेको काठमाडौंमा आगो सल्किने सम्भावना छ। यदि डढेलो लाग्यो भने निभाउने कुरा सम्भव हुन्‍न। अथवा अवस्था गाउँ या सानो सहरको भन्दा विस्फोटक हुन सक्छ।’

सरकारले लागू गरेका नियम र मापदण्डलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए। लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनले बताए।

काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको उनले उल्लेख गरे। ‘बाहिरबाट कोही आउँछ भने काम गर्ने जस्तो उद्योगकै कुरा गरौं न कामदारहरु आउँछ भने १४ दिन क्‍वारेन्टाइन बसेर मात्रै काममा हाजिर हुने नियम बनायौं, तर पालना भएन', उनले थपे, 'हिजो लकडाउनका कारण संक्रमण रोकिएको थियो। सीमामा मात्रै जोखिम थियो। राजधानीसम्म फिल्टर भएर मात्रै आउने कुरा हुन्थ्यो । अहिले लकडाउन खुकुलो भएपछि प्रत्येक दिन गाडीबाट मान्छेहरु आउँदा संक्रमण पनि सँगै आइरहेको छ। नाकामा गरेको परीक्षणबाट त्यही पुष्टि भयो।’

आवतजावत पूरै रोकौँ

उनले संक्रमण बढी देखिएका जिल्लाहरुलाई अनुगमन र मूल्यांकन गरी कडाई गर्नुपर्नेमा जोड दिए। जिल्लास्तरीय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको उनको भनाइ थियो।

वीरगन्जमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने जरुरी रहेको उनको भनाइ थियो। आवतजावत पूर्णरुपमा बन्द गर्नुपर्ने जरुरी रहेको उनको भनाइ छ।

त्यस्तै काठमाडौंका विभिन्‍न नाकामा स्वाब संकलन गरिएकामा पनि संक्रमण देखिएकाले आउने सबैलाई होम क्‍वारेन्टाइन अथवा स्थानीय क्‍वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिने उनले बताए। 

‘२ सयदेखि ५ सय भन्दा धेरै केस भएका जिल्लामा जिल्लास्तरीय लकडाउन गर्ने कुरा हुन सक्छ। वीरगन्जमा अहिले जुनखालको संक्रमण देखिएको छ। त्यहाँ सिल गरेरै आवतजावतलाई रोक्नुपर्छ', ढकालले भने, 'काठमाडौंका विभिन्‍न नाकामा स्वाब टेस्ट गर्दा पोजेटिभ देखिएकाले होम क्‍वारेन्टाइन तथा स्थानीय क्वारेन्टाइनमा अनिवार्य बस्‍ने कुराले मात्रै संक्रमण नियन्त्रण गर्न सकिने विषयमा छलफल गरेका छौं।’

उच्च जोखिम भएका स्थानमा नीतिगत निर्णयहरु मात्र गरेर नभई सामग्रीहरुको उपलब्धतामा समेत सरकारले ध्यान दिएको मन्त्री ढकालले बताए। जनशक्ति र अन्य व्यवस्थापनको काममा काबु भन्दा बाहिर जान नदिन सरकारले काम गरिरहेको बताए। 

‘जुन ठाउँमा उच्च जोखिम हुन्छ त्यसमा नीतिगत हिसाबका निर्णयहरु मात्रै होइन, सामग्रीहरुको उपलब्धता मात्रै होइन, जनशक्ति र अन्य व्यवस्थापनको काममा पनि हामी लागेका छौं', उनले भने, 'यसर्थ यसलाई काबुभन्दा बाहिर जान नदिने गरी सरकारको तर्फबाट एकीकृत ढंगले लागेका छौं।’

लकडाउनअघि कोरोना संक्रमणको अवस्थालाई लिएर सबैमा भय र त्रास रहेको उनले स्मरण गरे। तर लकडाउनमा सबै नागरिकले साथ दिएकाले कोरोना नियन्त्रण केही हदसम्म सफल भएको उनले बताए। 

तर लकडाउन खोलेपछि मानिसहरुले सुरक्षा सावधानीलाई उलंघन गरेकाले स्थिति खराब बन्दै गएको उनको तर्क छ।  'लकडाउन अलि खुकुलो गरेपछिको पछिल्लो दिनमा करिब २० हजार भन्दा माथि संक्रमणको स्थिति पुग्दा अब हामीले अझै उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने भएको छ। सुरक्षा सावधानीलाई उलंघन गरियो भने यसले जुन कुनै बेला पनि हामीलाई विस्फोटको स्थितिमा पुर्‍याउन सक्छ', उनले थपे, 'यो सरकारको लागि मात्र होइन, यो तपाई हामी सबैका लागि हो भन्‍ने अर्थमा बुझ्नु जरुरी छ। कोरोनाविरुद्धको लडाईँमा सबैको सहयोगको लागि अपिल गर्छु।'

विदेशबाट आउनेलाई ५ दिन काठमाडौंमै

मन्त्री ढकालले सीमा बाहिरबाट आउने व्यक्तिहरुलाई होल्डिङ क्‍वारेन्टाइनमा राख्‍ने उनले बताए। विदेशबाट जहाजमा आउनेलाई परीक्षण गराएर ५ दिनसम्म काठमाडौंमा राखेर मात्रै स्थानीय क्‍वारेन्टाइनमा पठाउने व्यवस्था गरिएकाले त्यो जोखिम कम रहेको उनको तर्क छ।

‘पछिल्लो दिन हामी सीमा बाहिरबाट आउने व्यक्तिहरुलाई होल्डिङ क्‍वारेन्टाइनमै राखेर परीक्षण गराउने नीति छ। विदेशबाट प्लेनको माध्यमबाट आउने व्यक्तिहरुको हकमा काठमाडौंमा राखेर ५ दिनको क्‍वारेन्टाइन पछि परीक्षण गरेपछि मात्रै नेगेटिभ भएकालाई सम्बन्धित ठाउँको क्‍वारेन्टाइनमा पठाउने व्यवस्था गरेका छौं', उनले भने, 'बाँकी पोजेटिभहरुको हकमा आइसोलेसन सेन्टर वा अस्पतालमा व्यवस्था हामीले गरेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.