६ दिनपछि भयो वार्ता, सहमतिको बिन्दु अझै भेटिएन

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय बीच ५ दिनपछि छलफल भएको छ। प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि मंगलबारबाट अध्यक्ष दाहालबीच छलफल हुन सकिरहेको थिएन। आजको भेटमा नेताहरु झलनाथ खनाल र सुवास नेम्वाङ पनि साथै थिए।

पाँच दिनपछि बसेको छलफल पार्टीभित्रको सहमतिका लागि पुनः छलफल क्रम सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए। तर, उनले बैठकमा भएको छलफलबारे खुलेर जानकारी गराएनन्। 

पार्टीभित्रको समस्या समाधानका लागि आजको छलफल केन्द्रीय कमिटीको बैठकबारे केन्द्रित रहेको स्रोतले बताएको छ। 'स्थायी कमिटीको बैठकसमेत अवरुद्ध भएको बेला केन्द्रीय कमिटीको बैठकको माग भएकाले अघि बढ्ने बारे छलफल भएको बुझिएको छ', स्रोतले भन्यो, 'केन्द्रीय कमिटीको बैठक र पार्टी एकता कायमै राखेर कसरी अघि बढ्नेबारे पनि छलफल भयो।'

छलफलमा प्रधानमन्त्री ओलीले मंसिरमा प्रस्ताव गरेको महाधिवेशनबारे पनि छलफल भएको  छ। 'पार्टीभित्रको सम्पूर्ण विवाद र समाधानका विकल्पको खोजीमा बैठक केन्द्रित रह्यो। त्यसै बीच 'अर्ली महाधिवेशन'ले पनि प्राथमिकता पाएको थियो', स्रोतले भन्यो। 

विवाद उत्कर्षमा पुगेपछि निकास निकाल्न बसेको बैठकले प्रधानमन्त्री ओलीले आफ्नो अडानबाट पछि नहटेपछि सहमति यथावत रहेको दाहाल पक्षका एक स्थायी कमिटी सदस्यले भने। 

'बैठकमा अहिलेसम्मका सबै घटनाक्रमलाई लिएर समस्या समाधानका लागि छलफलको प्रयास भएकोमा प्रधानमन्त्री ओलीले आफ्नो अडानबाट पछि नहट्ने र अध्यक्ष दाहाल-नेपाल पक्षले पनि ओलीको कुरामा सहमति जनाउने कुरै भएन', उनले भने, 'त्यसैले आजको बैठक पुनः छलफल सुरु भएको छ। अब पार्टीलाई विधि र पद्धतिबाट चलाउने निर्णयलाई जोड दिनेगरी सहमति जुट्ला भन्‍ने अपेक्षा गरेका छौँ।'

खनाल र नेम्बाङ पनि

बैठकमा अध्यक्षद्वयले वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङकाे पनि सहभागिता थियो। यसअघिको बैठकमा प्रधानमन्त्री ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेल र अध्यक्ष दाहालका तर्फबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। 

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल बीचको आन्तरिक शक्ति संघर्षको कारणले पार्टी विभाजनको दिशातर्फ गइरहेको छ। तर, शीर्ष नेताबीचको विवाद चुलिएका बेला पार्टी एकता जोगाइ राख्नुपर्नेमा बहुमत देखिएको छ।

सहमतिका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक पटक सहमति प्रयास भए पनि जुट्न सकेको छैन। पार्टीभित्रको आन्तरिक समस्याले गर्दा पार्टी फुटको संघारसम्म पुगिसकेको थियो। 

दाहाल-नेपाल समूहका स्थायी कमिटी सदश्यहरुको बैठकले ओलीसँग सहमतिका लागि अध्यक्ष दाहाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो। तर, दाहाल नेपाल समूहको बैठकपछि पहिलोपटक ओली दाहालबीच वार्ता भएको हो। 

प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा दुवै पदबाट राजीनामा नदिने भन्दै मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। तर, अध्यक्ष दाहाल पक्षले ओलीको प्रस्ताव स्वीकारेको छैन। 

अध्यक्ष दाहाल निकट खुलेर समर्थन गर्दै आएका उपाध्यक्ष वामदेव गौतमले मंगलबार पार्टीभित्रको समस्या समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारे। उपाध्यक्ष गौतमको प्रस्तावले प्रधानमन्त्री ओलीलाई राहत पुगेको छ। गौतमले ओलीले यो कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष दाहालले महाधिवेशनसम्म कार्यकारी अध्यक्षको जिम्मेवारी गरेर सहमति गर्ने प्रस्ताव गरेका थिए। 

मंसिरमा भएको सहमतिमा पनि प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले पार्टी एकताको आलोपालो सहमति छाडेर कार्यकारी अध्यक्षको जिम्मेवारी स्वीकारेका थिए। तर, प्रधानमन्त्री ओलीले पहिलो अध्यक्ष आफैं भएपछि पार्टी एकलौटी सञ्चालन गर्न खोजेपछि अध्यक्ष दाहाल रुष्ट भएका थिए। मंगलबार प्रधानमन्त्री ओलीले एकलौटी रुपमा बैठक स्थगित गरेपछि आफू निकटका स्थायी कमिटी सदस्यसँग ओलीले आफूलाई अध्यक्ष नठानेको गुनासो गरेका थिए। 

शक्ति संघर्ष चलिरहेका बेला उपाध्यक्ष गौतमको प्रस्तावले अध्यक्ष शक्ति समीकरणमा फेरबदल भएको छ। गौतमले ६ बुँदे प्रस्ताव गरेकै साँझ प्रधानमन्त्री ओलीले गौतम निवास भैँसेपाटीमा गएर छलफल गरेका थिए। नेता रामबहादुर थापा,मणि थापा, लेखराज भट्ट लगायत धेरैले प्रचण्ड पक्षमा खासै चासो नदेखाए पछि ओली पक्षलाई बल पुगेको छ।

पार्टीभित्र समाधानको विकल्पको रुपमा उपाध्यक्ष गौतमको प्रस्तावमा आज पनि छलफल भएको बुझिएको छ। उपाध्यक्ष गौतमको प्रस्तावमा ओली पक्षको सहमत भए पनि अध्यक्ष दाहाल पक्षले अस्वीकार गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.