खुमलटारमा दाहालको ब्रिफिङ : वार्ता सकारात्मक दिशामा पुगेको छैन

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको तीन घण्टा लामो छलफलबारे आफूनिकट नेतालाई जानकारी गराएका छन्।

अध्यक्ष दाहालले खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भएको छलफलमा ओलीसँगको छलफल सकारात्मक मोडमा पुगिनसकेको बताएका हुन्।

'आजबाट वार्ता पुन सुरू भएको छ। भेटवार्ताका क्रममा भोलि फेरि बस्‍नेभन्दा अरू बिषयमा सहमति जुट्न सकेन', दाहालको भनाइ उद्धृत गर्दै खुमलटार स्रोतले भन्यो, 'प्रधानमन्त्री ओलीले आफ्नो अडानबाट पछि हट्ने संकेत गर्नुभएको छैन।'

ओलीले मंसिरमा गर्ने महाधिवेशनबारेमा सहमति हुन सक्ने बताए पनि राजीनामाको कुरा सम्भव नभएको जिकिर गरेका थिए। 'उहाँ (ओली) ले मंसिरमा गर्ने महाधिवेशनबारेमा चाहिँ सहमतिमा हुन्छ भने केन्द्रीय कमिटीको निर्णय अनुसार जान सकिन्छ। तर, अहिले राजीनामाको कुरा सम्भव छैन भन्‍नुभयो', अध्यक्ष दाहालले खुमलटारमा भने, 'आजको वार्तामा भोलि फेरि बस्‍ने सहमति भएको छ। अब भोलिको बैठकले केही निर्णय देला भन्‍ने अपेक्षा गरेको छु।'

बैठकमा अहिलेसम्मका सबै घटनाक्रमबारेमा चर्चा भएको थियो। 'दुईजनाबीच समस्या समाधानका लागि छलफल प्रयास भएकोमा प्रधानमन्त्री ओलीले आफू अडानबाट पछि नहट्ने बताउनुभए छ। यता अध्यक्ष दाहाल पक्षले पनि ओलीको कुरामा सहमति जनाउने कुरै भएन', वरिष्ठ नेता माधवकुमार नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, 'त्यसैले आजको भेटबाट पुनः छलफल सुरु भएको छ। अब पार्टीलाई विधि र पद्धतिमा चलाउने निर्णयलाई जोड दिनेगरी सहमति जुट्ला भन्‍ने अपेक्षा गरेका छौँ।'

बैठकमा अध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए। यसअघिको वार्तामा प्रधानमन्त्री ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेल तथा अध्यक्ष दाहालतर्फबाट स्थायी कमिटी सदस्य जनर्दन शर्मा वर्षमान पुन सहभागी हुने गरेका थिए। 

प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आन्तरिक शक्ति संघर्षले पार्टी विभाजनको दिशातर्फ गइरहेको छ। तर, शीर्ष नेताहरुबीचको विवाद बढिरहँदा पार्टीमा एकता जोगाउने पक्षमा बहुमत बन्दै गएको छ। 

सहमतिका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक पटक सहमतिको प्रयास भएपनि जुट्न सकेको छैन। दाहाल-नेपाल समूहले राखेको स्थायी कमिटी बैठकले ओलीसँग सहमतिका लागि अध्यक्ष दाहाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो। दाहाल-नेपाल समूहको बैठकपछि पहिलोपटक ओली दाहालबीच वार्ता भएको हो। 

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै नचलेको भएकाले दुवै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरुले माग गरेपछि विवाद उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा दुवै पदबाट राजीनामा नदिनेभन्दै मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। तर, अध्यक्ष दाहाल पक्षले उक्त प्रस्ताव स्वीकारेको छैन। 

केही समयदेखि अध्यक्ष दाहाल समूहमा देखिएका उपाध्यक्ष वामदेव गौतमले मंगलबार पार्टीको समस्या समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन्। उपाध्यक्ष गौतमको प्रस्तावले प्रधानमन्त्री ओलीलाई राहत मिलेको छ। गौतमले यो प्रस्तावसँगै आफूलाई ओलीको पक्षमा उभ्याएका छन्। ओलीले यो कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष दाहालले महाधिवेशनसम्म कार्यकारी अध्यक्षको जिम्मेवारी गरेर सहमति प्रस्ताव गरेका थिए। 

मंसिरमा भएको सहमतिमा पनि प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले पार्टी एकताको आलोपालो सहमति छाडेर कार्यकारी अध्यक्षको जिम्मेवारी स्विकारेका थिए। तर, प्रधानमन्त्री ओलीले पहिलो अध्यक्ष आफैँ हुँदा पार्टी एकलौटी सञ्चालन गर्न खोजेपछि उनी रुष्ट भएका थिए। मंगलबार प्रधानमन्त्री ओलीले एक्लै बैठक स्थगित गरेपछि आफूनिकट स्थायी कमिटी सदस्यसँग दाहालले आफू अध्यक्ष जस्तै नरहेको गुनासो गरेका थिए। 

पार्टी शक्ति संघर्ष चलिहरेको बेलामा उपाध्यक्ष गौतमको प्रस्तावले अध्यक्ष शक्ति समीकरणमा फेरबदल आएको छ। गौतमले ६ बुँदे प्रस्ताव गरेकै साँझ प्रधानमन्त्री ओलीले गौतम निवास भैंसेपाटीमा गएर छलफल गरेका थिए। 

छलफलमा महासचिव बिष्णु पौडेल पनि सहभागि थिए। दाहाल नेपाल निटकका नेताहरुले प्रधानमन्त्री ओलीबाट गौतमलाई यसअघि  ओलीबाट भएको धोका सम्झाउँदा समेत एकता जोगाउन आफू अपमानित हुन तयार गरेको तर्क गरेका थिए।  

पार्टीभित्र समाधानको विकल्पको रुपमा उपाध्यक्ष गौतमको प्रस्तावमा पनि आज छलफल भएको बुझिएको छ। उपाध्यक्ष गौतमको प्रस्तावमा ओलीपक्षको सहमत भए पनि अध्यक्ष दाहालपक्षले अस्वीकार गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.