|

म्याग्दी : म्याग्दी सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा आइतवारदेखि निःशुक डायलासिस सेवा सुरु भएको छ। सेवा सुरु भएपछि म्याग्दीका मिर्गौला पीडितले डायलासिस गर्न जिल्लाबाहिरका अस्पतालहरुमा महँगो रकम तिर्नुपर्ने बाध्यता हटेको छ।

गण्डकी प्रदेश सरकारले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित तालिम प्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा सुरु गरेको हो। आइतबार दुई मिर्गौला पीडितले सेवा लिएका छन्। गण्डकी सरकारले उपलब्ध गराएको चारवटा मेसिन र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेसिन रहेको अस्पतालमा हेमोडायलासिस युनिटको सेवा सुभारम्भ भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले बताए।

युनिटमा दुई चिकित्सक, चारजना स्टाफ नर्स कार्यरत छन्। डायलासिस युनिटलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाहेक अस्पतालको आन्तरिक स्रोतलाई समेत परिचालन गरिएको छ। पहिलो चरणमा तीनवटा बेड सञ्चालन गरिएको छ।

एक दिनमा छजना बिरामीले सेवा लिन सक्नेछन् । छवटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने भए पनि तत्काल दुईवटा पुरानो मेसिन भएकाले सञ्चालनका लागि केही उपकरणको अभाव रहेको बेनी अस्पतालका प्रमुख डा.अमृत अधिकारीले बताए।

जिल्लामै डायलासिस सेवा आउने भएपछि हालसम्म १५ जना सम्पर्कमा छन्। डा. अधिकारीका अनुसार परीक्षण सेवाको रुपमा केही दिन सञ्चालन गरिने र औपचारिक उद्घाटन गरी सेवालाई थप प्रभावकारी बनाउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.