|

डडेल्धुरा : नेपाल–भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण डडेल्धुराको भित्री मधेस क्षेत्रका दर्जनौं बस्तीहरू जोखिममा रहेका छन्। महाकाली नदीका साथै अन्य स्थानीय नदी र चुरे क्षेत्रबाट निस्कने खहरे खोलाहरुको कटानका कारण भित्री मधेस क्षेत्रका बस्तीहरू वर्षायाममा बर्सेनि विपदको उच्च जोखिममा छन्।

महाकाली नदीको किनारामा रहेको प्रसिद्ध परशुरामधाम पनि बाढीका कारण संकटमा पर्दै गएको छ। महाकाली, रंगुन नदी, सादनी खोला,  पन्तुरागाँड र शीर्ष गाँडसहित चुरे क्षेत्रबाट बग्ने तीन दर्जनभन्दा बढी खहरे खोलाका कारण भित्री मधेसका अधिकांश बस्ती बाढीको उच्च जोखिममा रहेको इलाका प्रशासन कार्यालय जोगबुडाका प्रमुख धनबहादुर खड्काले बताए। 

उक्त क्षेत्रका विभिन्न बस्तीहरुलाई जोगाउन तटबन्ध निर्माणको काम भइरहे पनि महाकाली नदी किनारका गाउँमा भने तटबन्ध निर्माणका साथै अन्य पूर्वतयारीका काम नहुँदा कुनै पनि समय डुबानमा पर्न सक्ने सन्त्रास रहेको परशुराम नगरपालिका–६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए। 

महाकाली नदीको तटीय क्षेत्रमा रहेका परशुराम नगरपालिका–३ को अशुरानी, वडा नम्बर ५ को परिगाँउ, वडा नम्बर ६ का पटरेनी, ठण्डाजाला, सरगौडा, सिमलखेत, कुडा, छेला, तातापानी, बण्ड, सिसझाला, भौरकुण्डा, खालीगडा र कराली गाउँहरु नदी कटानको उच्च जोखिममा रहेको उनले बताए।

अविरल वर्षाका कारण गत बिहीबारदेखि महाकाली नदीमा पानीको सतह बढ्दै गएकाले परशुराम नगरपालिकाका एक दर्जनभन्दा बढी बस्तीहरु बाढीको उच्च जोखिममा रहेको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले बताए। महाकाली नदीबाहेक पनि अन्य खोलानालाका तटीय क्षेत्रमा रहेका झण्डै तीन दर्जन बस्तीहरुमा बर्सेनि बाढीले क्षति पुगाउने गरेको बताए। 

संकटमा परशुरामधाम

वर्षातका बेला नदी कटानका कारण परशुराम नगरपालिका–६ का बस्तीहरु बर्सेनि मानवविहीन बन्न थालेका छन्। 

धार्मिक तीर्थस्थल परशुरामधामकै अस्तित्व संकटमा पर्न थालेको छ। सुदूरपश्चिमकै पवित्र तीर्थस्थल परशुरामधाम परशुराम नगरपालिका–५ परिगाउँमा अवस्थित छ। श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नि र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरुमा वर्णन गरिएको छ। 

एला र श्यामाको संगममा जगदग्नि पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ। हैयेय वंशी क्षत्रीहरुले पिता जगदग्निको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ।

अधिकांश बस्तीसँगै महाकाली नदीको तटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल परशुरामधामकै अस्तित्व संकटमा पर्न थालेको परशुरामधाम क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर चन्दले बताए।

भारतले महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण गरेकाले नदीको बहाव नेपालतर्फ फर्कंदा कुनै पनि समय महाकाली नदी सीमा क्षेत्रका बस्तीहरुमा पस्न सक्ने प्रहरी चौकी तातापानीका इन्चार्ज प्रहरी नायब निरीक्षक रामदत्त भट्टले बताए। एक दशकयता महाकाली किनारका आधा दर्जन बस्तीमा १० हजार हेक्टरभन्दा बढी उब्जाउ जमिन बगर बनिसकेको परशुराम नगरपालिका–६ करालीका भुपेन्द्रसिंह धामीले बताए

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.