पाँच सरकारी कार्यालयका कर्मचारी र वडाध्यक्ष पनि संक्रमित

|

नेपालगञ्ज : बाँकेका सरकारी कार्यालयहरुमा कोरोनाको संक्रमण तीव्ररुपमा फैलिँदै गएको छ। यातायात व्यवस्था, आन्तरिक राजस्व, जिल्ला अदालत, सैनिक अस्पतालदेखि नेपालगञ्ज उपमहानगरपालिका कर्मचारी र एक जना वडाध्यक्षमा  कोरोनाको संक्रमण देखिएको छ।

पाँचवटा सरकारी कार्यालयहरुमा संक्रमण देखिएका कारण बढी भिडभाड हुने सरकारी कार्यालयहरु थप सात दिनका लागि बन्द गर्ने तयारी भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। 

कर्मचारीहरुमा संक्रमण देखिएपछि आन्तरिक राजस्व कार्यालयको सेवा बन्द गरेर कर्मचारीहरुका लागि आइसोलेसन सेन्टर बनाइएको छ। यस्तै, नेपालगञ्जको केन्द्रमा रहेको त्रिभुवन चोक, एकलैनी र वीपी चोक नजिकको क्षेत्रमा पनि कोरोनाको संक्रमण देखिएको छ।

ट्राभल हिस्ट्री नभएका क्वारेन्टाइनबाहिर रहेका व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि बाँके पुनः कोरेना संक्रमणको हट स्पट बन्दै गएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका परिसरबाट संकलन गरिएको ५६ जनाको स्वाबको नमुना परीक्षण गर्दा एक वडाध्यक्ष र एक जना अधिकृत गरी दुईजनामा संक्रमण पुष्टि भएको हो।

त्रिभुवन चोकस्थित केक एन्ड बेकरी सपका सञ्चालकका परिवारका सातजना सदस्य र त्यहाँ कार्यरत पाँचजना कर्मचारीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएका कारण बाकेको त्रिभुवन चोक नै कोरोना संक्रमणको इपि सेन्टर बन्ने जोखिम बढेको छ। संक्रमणको जोखिम बढेसँगै निषेधाज्ञा, सीमा क्षेत्रमा कडाइ र कन्ट्रयाक टेसिङका आधारमा पिसिआर परीक्षणमा जोड दिइएको छ।

बाँकेमा समुदाय स्तर मै कोरोनाको संक्रमण फैलिएको शंकापछि सरकारले जारी गरेको मापदण्डअनुसार जोखिममा रहेका समुदायहरुको पहिचान गरी स्वाब संकलन गरेर परीक्षण गर्न थालिएको छ।

पिसिआर परीक्षण संक्रमित पत्ता लगाउनु गर्नुपर्ने भए पनि पछिल्ला दिनहरुमा विभिन्न कार्यालय तथा पहुँचमा भएका व्यक्तिहरुले मापदण्डबाहिरका ब्यक्तिहरुको पनि परीक्षणका लागि स्वास्थ्य कार्यालय र प्रशासनलाई दबाब दिने क्रम बढ्दै गएको छ। जसका कारण समुदाय स्तरमा फैलिएको संक्रमणलाई पत्ता लगाउनका अत्यावश्यक पर्ने पिसिआर परीक्षणका लागि सामग्रीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती थपिँदै गएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

बाँकेमा अहिलेसम्म १२ हजार २०२ जनाको पिसिआर परिक्षण भइसकेको छ । प्रदेश ५ मा बाँके सबैभन्दा बढी पिसिआर परीक्षण भएको जिल्ला हो। बाँकेमा आजसम्म ४४८ जना संक्रमितको पहिचान भएको छ। जसमध्ये ५६ जनाको उपचार भइरहेको, दुईजनाको मृत्यु भएको र ३ ८७ जना निको भएर घर फर्किसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.