|

बैतडी : जंगली जनावरले अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान मर्कामा परेका छन्‌।​ जिल्लाका सबैजसो क्षेत्रमा दिनको समयमा बाँदर तथा रातीको समयमा दुम्सी र जंगली बँदेलले बालीनाली सखाप पार्न थालेको छ।

जंगली बँदेलले मकैबाली खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार-३ श्रीकोटका प्रेमसिंह विष्टले बताए। उनले भने, ‘जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ।’

सुर्नया गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाएको मकैबाली पनि जंगली जनावरले खान थालेको छ। गाउँपालिकाको वडा नं ७ स्थित मालमपुर, सिंजा लगायतका क्षेत्रमा बँदेलले बालीनाली खाइदिएर हैरान पारेको स्थानीय दीपेन्द्र कुँवरले बताए। 

फौजी र फेदकटुवा कीराबाट बल्लतल्ल जोगाइएको अन्नबाली फेरि बँदेललगायत जंगली जनावरले खाइदिएपछि यस क्षेत्रमा खाद्यान्न उत्पादन स्वाट्टै घट्ने देखिएको छ। 

बैतडीका किसानहरूले लगाएको बालीनाली वर्षेनी जंगली बँदेल र दुम्सी लगायतका जनावरहरूले खाइदिने गरेको छ। अरू बालीभन्दा पनि मकैखेती सखापै पारिदिने गरेको किसानहरूले बताएका छन्‌। जिल्लास्थित सबैजसो स्थानीय तहमा जंगली जनावरले खेतीपाती खाइदिने गरेको छ।

खेतमा लगाएको मकैबाली जंगली बँदेलले पूरै नष्ट गरेको दशरथचन्द नगरपालिका-१ का किसान वीरबहादुर टेरले बताए। जंगली बँदेलले मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने चिन्ता थपिएको उनको भनाई छ।

मकैबाली जोगाउन रातभर पहरा दिएपनि जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको सुर्नया-६ का केशवदत्त अवस्थीले बताए। मकै जिल्लामा हुने मुख्य खाद्यबाली हो। बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ।

जंगली जनावरहरूले प्रत्येक वर्ष बालीनाली खाइदिएपनि क्षतिपूर्ति पाउन नसकेको किसानहरूले बताएका छन्। स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै योजना अघि सारेको छैन। प्रत्येक वर्ष जंगली जनावरहरूले बालीनाली नष्ट गर्न थालेपछि किसानहरू अब खेती गर्ने कि नगर्ने भन्ने अन्योलमा परेका छन्।

किसानलाई बाँदर धपाउने यन्त्र

बैतडीको दशरथचन्द नगरपालिकाले किसानहरूलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ। वर्षौंदेखि बालीनाली नष्ट गरेपछि समस्या भोगिरहेका किसानहरूलाई गाउँपालिकाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो। 

नगरपालिकाकी उपप्रमुख मीना चन्दका अनुसार वडा नं ५ मा २५ वटा यन्त्र वितरण गरिएको छ। प्रत्येक टोलका किसानहरूलाई पायक पर्ने गरेर यन्त्र वितरण गरिएको हो।

नगरपालिकाले स्याङजाको जयलक्ष्मी आँधिखोला कन्स्ट्रक्सन प्रा.लि.बाट १०० थान बाँदर धपाउने यन्त्र खरीद गरेर ल्याएको थियो। नगरपालिकाका बाँदर प्रभावित अन्य वडाका किसानहरूलाई पनि यो यन्त्र वितरण गरिने उपप्रमुख चन्दले जानकारी दिएकी छिन्।

बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेसिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ। किसानहरूलाई यन्त्र चलाउन पनि सिकाइएको छ।

यन्त्र पाएपछि अब बाँदर धपाउन सजिलो हुने किसानहरूले विश्वास गरेका छन्। नगरपालिकाले बाँदर नियन्त्रण गर्ने योजना अन्तर्गत ३ लाख रुपैयाँ लागतमा यी यन्त्र किनेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.