धनकुटा : धनकुटाको शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले दृष्टिविहीन महिलाका लागि छुट्याइएको शिक्षक आरक्षण कोटामा आफ्नै सबलाङ्ग भान्जीलाई जागिर खुवाएको खुलेको छ।
विकलांकका लागि छुट्याइएको कोटामा गाउँपालिका अध्यक्ष राईले सबलाङ्ग आफन्तलाई भर्ना गरेपछि जिल्लाका दृष्टिविहीनहरूले विज्ञप्ति निकालेर विरोध जनाएका छन्। दृष्टिविहीन जिल्ला समिति धनकुटाले यो निर्णयविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरिरहेको छ।
गाउँपालिकाको साप्तिङटारस्थित सिद्धदेवी माध्यामिक विद्यालयमा प्रा.वि तहको आरक्षित दृष्टिविहीन महिला शिक्षक कोटा गत वर्षदेखि रिक्त रहेको थियो। सो कोटामा नियमअनुसार दृष्टिविहीन महिलालाई नै नियुक्त गर्नुपर्नेमा विद्यालय प्रशासन र गाउँ शिक्षा समितिको मिलेमतोमा असार २८ गते फूलमाया राईलाई नियुक्त गरिएको हो। नियुक्त भएकी राई नाताले गाउँपालिका अध्यक्ष मनोज राईकी भान्जी हुन्।
समितिले गाउँपालिकाका अध्यक्ष राईलाई भेटेर सो नियुक्ति खारेज गर्न माग राखेको दृष्टि विहीन जिल्ला संघका पूर्व अध्यक्ष सरस्वती उच्च माविका शिक्षक खगेन्द्र तामाङले बताए। लक्षित वर्गका योग्य उम्मेदवारबीच नै खुला प्रतिष्पर्धाका आधारमा पदपूर्ति गर्नु पर्ने सरकारी प्रावधान भएपनि लकडाउनको मौका छोपेर यो निर्णय गरिएको उनले दावी गरे।
कुनै दृष्टिविहीन महिला सम्पर्कमा नआएको ब्यहोरा तयार गरी नातेदारलाई जागिर दिएको जिल्लाका दृष्टिविहीनहरूले आरोप लगाएका छन्। त्यसअघि विद्यालय पुगेको दृष्टिविहीन उम्मेदवारलाई आवश्यक सूचना नै उपलब्ध नगराई विद्यालय प्रशासनले अमानवीय व्यवहार गरेको दृष्टिविहीन जिल्ला समितिका अध्यक्ष चन्द्रहाङ्ग लिम्बुले बताए।
आवश्यक कागजातसहित धनकुटा नेत्रहीन संघ प्रतिनिधि मण्डलले गत श्रावण ४ गते गाउँपालिका अध्यक्ष र शिक्षा समिति प्रमुखसँग पदपूर्ति खारेजीको माग गरेपनि हालसम्म सुनुवाई भएको छैन। निर्णय नसच्चिए आफूहरूले भदौ १ देखि आन्दोलन थाल्ने शिक्षक खगेन्द्र तामाङले बताए।
गाउँपालिका अध्यक्ष मनोज राईले भने शिक्षा समितिले गरेको निर्णय भएकोले आफूले यसबारे केहि भन्न नसक्ने बताएका छन्। गाउँ शिक्षा समितिका प्रमुख उमेश राईका अनुसार नियमानुसार ३ पटकसम्म विज्ञापन गर्दा समेत कुनै दृष्टिविहीनको निवेदन नपरेको भन्दै साधारण कोटा निर्धारण गरी सो कोटामा सबलाङ्ग शिक्षक नियुक्त गरिएको हो।
दृष्टिविहीन लगायत अपाङ्गता भएकाहरू सम्पर्कमा नआएका कारण नै सो कोटामा एक महिला नियुक्त गरिएको उनले दावी गरे। अहिले दृष्टिविहीनहरू सम्पर्कमा आएकाले थप दरबन्दीमा चाँडै पुनः विज्ञापन गरी अर्को नियुक्ति गरिने उनले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।