स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा स्थिति भयावह बन्दै

|

काठमाडौं लकडाउन खुलेपछि सरकार, मजदुर नेता र यातायात व्यावसायीबीच कोरोना महामारी बाबजुद पनि सवारीसाधन सञ्चालन गर्ने सहमति भएको थियो। सवारीसाधनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिनुपर्ने, सवारीसाधनभित्र स्यानिटाइजर तथा मास्क राख्नुपर्ने सहमति भएको हो।

तर सहमतिविपरीत यातायात व्यवसायी र मजदुरले सवारीसाधन सञ्चालन गरिरहेका छन्। जसको परिणाम काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनका चालकमा कोरोना देखिएको छ। सवारीसाधनका चालकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गर्दा संक्रमण फैलिँदै गएको हो।

लकडाउन खुलेपछि सार्वजनिक यातायात सञ्चालन आएको छ। सडकमा निस्कँदा यात्रु तथा सवारी चालकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएका छैनन्। पसलमा जाँदा होस् वा बाहिर निस्कँदा न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई हिँड्नेकाे ताँती छ। उपत्यका प्रवेश नाकामा मानिसहरुको कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म सरकारले १० हजार ८ सय २७ जनाको नमुना संकलन गरिसकेको छ।

सार्वजनिक यातायात सञ्चालनमा आएपछि लकडाउन अगाडि गाउँ गएका मानिस काठमाडौ आउन थालेका छन्। सर्वसाधारण, मजदुर वा सार्वजनिक यातायातका सवारी चालक उपत्यकाको विभिन्न नाका हुँदै काठमाडौं प्रवेश गरिरहेका छन्। उपत्यका प्रवेश गर्ने मानिसको नाकामा कोरोना परीक्षण भइरहेको छ।

हालसम्म २५ जना भन्दा बढीमा कोरोना पोजेटिभ देखिइसकेको छ। नमुना परीक्षण गरेर धमाधम उपत्यका प्रवेश गर्नेलाई घर पठाउँदा संक्रमण फैलने आशंका बढ्दै गएको काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका सवारी चालकमा पनि कोरोना पुष्टि भएको छ। आइतबार टेम्पु चालकमा कोरोना पुष्टि भएको हो।

उक्त चालकले शंखमुल–थापागाउँ–अनामनगर–रत्नपार्क रुटमा ट्याम्पो चलाउँदै आएका थिए। यस अवधिमा उनको टेम्पुमा कति यात्रुले सवार गरे त्यो अहिलेसम्म जानकारीमा आएको छैन। न त उनको कुनै ट्राभल हिस्ट्री राखिएको छ। उनको यात्रा अवधिमा धेरै मानिससँग सम्पर्क भएको हुन सक्छ। यात्रुदेखि सवारीसाधन मर्मत गर्न मेकानिकलाई सम्पर्क गरेको बताइएको छ।

सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी र मजदुर नेताहरुले मजदुरको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी हुनुपर्ने सहमति भएपछि सवारी सञ्चालन गरेका थिए।

होम क्वारेन्टाइनमा नबस्दा कोरोनाको सिकार

सार्वजनिक यातायातका मजदुरले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा कोरोना संक्रमितको सिकार आफैं हुनुपरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव नवराज घिमिरे बताउँछन्। सवारीसाधन सञ्चालन गर्नु अगाडि होम क्वारेन्टाइनमा बसेको भए टेम्पु चालकलाई कोरोना नलाग्ने उनले बताए। उनले भने,' बाहिरबाट आएपछि १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्छ। मजदुरको लापरवाहीले उनमा संक्रमण भएको हाे।'

होम क्वारेन्टाइनमा बसेको प्रमाणपत्र भएपछि मात्र अबदेखि सवारीसाधन सञ्चालन गर्न दिने घिमिरेले बताए। नाकामा स्वाब संकलन गरी परीक्षण गर्दा चालक वा सर्वसाधारण लाई १४ दिनसम्म बाहिर ननिस्कन हुनुलाई सुझाव दिनुपर्ने उनले धारणा व्यक्त गरे।

'कन्ट्रयाक ट्रेसिङको सबैको गर्छौ'

यति धेरै मानिससँग टेम्पु चालकको सम्पर्क भएको छ। तिनीहरुको कन्ट्रयाक ट्रेसिङ गर्न कसरी सम्भव छ भनी थाहाखबरले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेसँग बुझ्ने प्रयास गरेको छ। 

काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमण बढिरहेको छ त्यसले भयावह ल्याउन सक्ने सम्भावना बढदै गइरहेको पाण्डे बताउँछन्। उनले भने, 'सवारी चालकमा कोरोना देखिएपछि अन्य यात्रु तथा चालक बसेको वरिपरि बसेका मानिसको कन्ट्रयाक ट्रेसिङ गरिन्छ। सम्भव भएसम्म सबैको कन्ट्रयाक ट्रेसिङ गरिने तयारी छ।'

महाशाखाले स्थानीय सरकार र सुरक्षाकर्मीको सहयोगमा कन्ट्याक ट्रेसिङ गरिरहेको उनले बताए। सम्भव भएसम्म टेम्पु सञ्चालित रुटमा चढेका यात्रुलाई सम्पर्कमा आउनलाई स्थानीय सरकारमार्फत सूचना गर्न लगाइसकेको उनको भनाइ छ।

सार्वजनिक यातायातका चालकले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउँदा कोरोना संक्रमण भएको हुन सक्ने उनको दाबी छ। मजदुरमा स्वास्थ्य चेतनाको अभाव भएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउँदा उपत्यकाका धेरै यातायात मजदुरमा संक्रमण फैलिन सक्ने उनले बताए। 

निर्देशक पाण्डेले भने, 'नाकामा स्वाब संकलन गर्न दिएर घरमा न्यूनतम १४ दिन होम क्वारेन्टाइन बस्नुपर्छ।' चालकले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए। 

'उपत्यका बाहिरबाट आउने होम क्वारेन्टाइनमा बसौं'

उपत्यका प्रवेश गर्ने नाकामा तत्काल क्वारेन्टाइन बनाउन सम्भव नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरमणि अधिकारी बताउँछन्। नागरिकको स्वेच्छा र स्थानीय सरकारको अनुमतिमा होम क्वारेन्टाइनमा बस्न दिने व्यवस्था गरिएको उनले बताए।

अधिकारी भन्छन्,'कोरोनाबाट बच्नको लागि नागरिक आफैं सुरक्षित हुनुपर्छ। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्छ। होम क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्छ।' १४ दिनपछि यो भाइरस सक्रिय हुन नसक्ने उनको दाबी छ। त्यसैले कोही पनि उपत्यका प्रवेश गर्नु भएको छ भने सबैले होम क्वारेन्टाइन बस्नलाई उनले सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.