‘सरकारले जसो भन्छ, त्यसै गर्छौं’ : निजी विद्यालय सञ्‍चालक

|

काठमाडौं : नेपालमा दिनहुँ कोरोना संक्रमित बढ्दै गएका छन्। २० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्‌। जोखिम बढ्दै गएपनि केही विद्यालयले पठनपाठन थालेका छन्‌ भने कुनै जिल्लामा भइरहेको पठनपाठन पनि बन्द गरिएका छन्। झापाको भद्रपुर नगरपालिकाले नगरका केही सामुदायिक विद्यालय असार १३ गतेबाट सञ्चालन गरेको थियो। तर, संक्रमण  जोखिम रहेको भन्दै विरोध भएपछि साउन १६ गतेबाट पठनपाठन बन्द भयो। 

कर्णाली प्रदेशमा भने पठनपाठन थालिएको छ। हुम्ला जिल्लाका तीन गाउँपालिकाका ५१ विद्यालयहरूमा पठनपाठन सुरु गरेको छ। ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लका अनुसार ताँजाकोटसहित उत्तरी नाम्खा र दक्षिणतिरको खार्पुनाथ गाउँपालिकाका गरी ५१ विद्यालयमा पठनपाठन सुरु भएको छ। अध्यक्ष मल्ल भन्छन, ‘सामाजिक दूरी कायम गरी विद्यालयमा पठनपाठन सुरु गरेका छौँ, हुम्ला जिल्लामा कोरोना संक्रमणको त्रास धेरै छैन।’ 

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले पनि नगरभित्र रहेका विद्यालयहरु भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। यता, सरकारले भदौ १ गतेबाट भर्ना प्रकृया थाल्ने निर्णय गरेपनि फेरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। संक्रमण फैलँदै जाने र प्रतिकार्यमा एकीकृत योजना नआउँदा पठनपाठन अनिश्चित जस्तै बनेको छ।

‘सरकारको निर्देशन अनुसार विद्यालय सञ्चालन गछौँ’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी सरकारले जारी गरेको निर्णयमै रहेर विद्यालय सञ्चालन गर्ने बताउँछन्।

‘सरकारले गरेको निर्णयअनुसार अहिले हामीले भर्ना प्रकृयालाई अगाडी बढाएका छौँ,’ उनले भने, ‘सहज परिस्थिति भएमा भौतिक दुरी कायम गरी पहिला ठूला तह कक्षाको पढाई थाल्ने हाम्रो योजना छ। तर, अब सरकारले के निर्णय गर्छ, सोहीअनुसार हामी अघि बढ्छौँ।’ कोरोना संक्रमित बढ्दै गएमा विद्यालयमा पठनपाठन सञ्चालन गर्न तत्काल सम्भव नहुने उनी बताउँछन्‌।

शिक्षा मन्त्रालय भन्छ : छलफलकै क्रममा छौं

विद्यालय पुन:सञ्चालन गर्नेबारे छलफलकै क्रममा रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहप्रवक्ता एवं सूचना अधिकारी दिव्या दवाडीले जानकारी दिएकी छिन्‌।

​उनले भनिन्‌, ​‘भर्ना भदौ १ गतेबाट हुन्छ, अरु विषय छलफलकै क्रममा छ।’ छलफलको विषय के-के हुन्‌ भन्नेबारे उनले जानकारी दिइनन्‌। सहज भएपछि मात्रै विद्यालय सञ्चालनमा आउने उनको भनाई छ।

घर बाहिर ननिस्कने आग्रह किन?

सरकारले ६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित प्रेस ब्रिफिङमा भने, ‘६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबच्चाहरु घरबाट बाहिर ननिस्कन अनुरोध छ।’

यो आग्रहले कतिपय सर्वसाधारण अलमल परेका छन्। प्रवक्ता गौतमले वृद्ध मानिस र बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा हुने गरेकाले यस्तो आग्रह गरिएको बताउँछन्‌।

उनले भने, ‘मुलुकभर संक्रमणको दर फैलँदो क्रममा रहेको छ। विश्वभर भएका विभिन्न अध्ययनले वृद्धलाई जोखिम धेरै हुने देखाएको छ, त्यसैले घरभित्रै बस्न भनिएको हो।’ बालबालिकाको हकमा उनीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नसक्ने भएकाले घरबाट ननिस्कन आग्रह गरिएको उनको भनाई छ। कतिपय बालबालिकाले मास्क लगाउन अटेर गर्ने भएकाले पनि घरभित्रै बस्न भनिएको गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.