|
फाइल फोटो

काठमाडौं :  कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढ्दै जाँदा सरकारले पुन लकडाउन गर्न परामर्श अघि बढाएको छ।

विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह स्थिति आउने चेतावनी दिइरहेका बेला सरकार लकडाउन गर्ने वा नगर्ने भन्ने परामर्शमा जुट्न थालेको हो।

उपत्यका सहित पर्सा मोरङमा लक्षणसहितका संक्रमित बढ्न थालेपछि लकडाउनका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मंगलवार २० जना भन्दा बढी जनस्वास्थ्यविद्लाई सरकारी निवास बालुवाटार बोलाएका छन्।

संक्रमितको संख्या बढिरहेकाले थप रणनीति तयार पार्न विज्ञहरुको सल्लाह लिन लागिएको बताइएको छ। एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले  स्वास्थ्यकर्मीलाई बोलाएर सुझाव लिन लागेका हुन्।​

यसअघि पनि प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गरेका थिए।  यसपटक पनि यसअघि गरिएको जस्तै विज्ञहरुसँग छलफल गरेर थप निर्णयमा पुग्नेछन्। यसअघि पनि लकडाउन खुकुलो गर्नुअघि २५ जना विज्ञहरुको सल्लाह प्रधानमन्त्रीले लिएका थिए। नेपालमा चैत १० गते लकडाउन गरिएकोमा साउन ७ गते हटाएको थियो।

पछिल्लो समय प्रदेश २ का वीरगन्ज, धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि बढिरहेको अवस्था छ। ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा समेत संक्रमण देखिन थालेपछि विज्ञहरुले भयावह रुप लि सक्ने भन्दै चेतावनी दिएका छन्।

स्वास्थ्य मन्त्रालयले आइतवार बालबालिका र जेष्ठ नागरिकलाई घरभित्रै बस्‍न आग्रह गरेको थियो। सरकारले भने हालसम्म कोभिड १९ को संक्रमण समुदायमा फैलिसकेकोबारे औपचारिक जानकारी दिएको छैन। तर तराई लगायतका कतिपय ठाउँमा संक्रमण समुदायमा फैलिएको नफैलिएका भन्नेबारे अध्ययन भइरहेको बताइएको छ।​

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.