चार महिलासहित १९ जनाले ज्यान गुमाए

|

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। सोमबार मात्रै १०३ संक्रमति थपिएका छन्। यो संख्यासँगै संक्रमित ५ हजार ९ पुगेका छन्।

सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा पर्सामा सबैभन्दा बढी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै धनुषा र महोत्तरीमा ३०/३० जना कोरोना संक्रमित थपिएका छन्।

बारामा ३ जना, सिरहामा १ जना र सर्लाहीमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरी र रौतहटमा आज एकजना पनि कोरोना संक्रमित थपिएका छैनन्। आज पुष्टि भएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए।

उनका अनुसार प्रदेश २ मा आज ११ जना संक्रमित कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। तीमध्ये ३ जना महिला छन्। प्रदेश २ मा हालसम्म कोरोनाबाट ४ महिलासहित १९ जनाले ज्यान गुमाइसकेका छन्। 

सबभन्दा बढी पर्सामा १२ जनाको मृत्यू भएको छ। यस्तै मृत्यू हुनेमा रौतहट र बाराका २/२ जना तथा धनुषा, महोत्तरी र सप्तरीका १÷१ जना छन्। मृत्यू हुनेहरु अधिकांश ४० वर्ष माथिका छन्।

कोरोनाले शहर आक्रान्त

आजको तथ्यांक हेर्दा प्रदेश २ का तीन मुख्य शहर जनकपुरधाम, वीरगन्ज र जलेश्‍वरमा बढी संक्रमित फेला परेका छन्। यी तीनै शहर कोरोनाले आक्रान्त बनेका छन्। शहरमा बढी चहलपहल हुन्छ। विभिन्‍न ठाउँका मानिस आउने/जाने गर्छन्। त्यही कारण शहरी क्षेत्र कोरोनाको ‘ट्रान्जिट पोइन्ट’ बनेको छ।

धनुषामा कुल ३० संक्रमित थपिएका मध्ये ९ महिलासहित २४ जना जनकपुरधाम उपमहानगरपालिकाकै छन्। यस्तै महोत्तरीमा पनि ३० संक्रमित भेटिएका मध्ये ३ महिलासहित २७ जना जलेश्वर नगरपालिकाकै छन्। पर्सामा त झन ३८ संक्रमित थपिएका मध्ये ७ महिलासहित ३२ जना वीरगन्ज शहरका छन्।

प्रदेश २ को मुख्य शहर वीरगन्ज, जनकपुरधाम, जलेश्‍वर र राजविराज कोरोनाको ‘हट स्पट’ क्षेत्र बनेको छ। वीरगन्ज, राजविराज र जलेश्वरमा निषेधाज्ञा जारी छ। जनकपुरधाममा आज मध्यरातबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। 

निषेधाज्ञा जारी गरेर प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास गरेको छ। तर विज्ञहरुले भने प्रदेश २ का आठै जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आइसकेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.