|

लमजुङ : लकडाउनका कारण बन्द रहेको घलेगाउँ होमस्टे भदौदेखि सञ्चालन गरिने भएको छ। घलेगाउँमा भदौ १ देखि आन्तरिक पर्यटक आगमन खुला गरिएको घलेगाउँ होमस्टे व्यवस्थापन समितिले जनाएको हो।

गत चैत ११ देखि लकडाउनसँगै बन्द रहेका होमस्टे सेवा बन्द गरिएको थियो। हाल लकडाउन खुलेसँगै भदौदेखि आन्तरिक पर्यटकहरुलाई खुला गरिएको घलेगाउँ पर्यटन समिति अध्यक्ष प्रेम घलेले बताए। सार्क नमुना गाउँको रुपमा र चर्चा पाएको लमजुङको पर्यटकीय घलेगाउँमा पहिलो चरणमा जिल्लाभित्रका पर्यटकलाई मात्रै प्रवेश खुला गरिएको र त्यसपछि कोरोना भाइरस संक्रमणको अवस्था हेरी अन्य जिल्लाका आन्तरिक पर्यटकलाई प्रवेश दिइने अध्यक्ष घलेको भनाइ छ।

स्मार्ट भिलेजको अवधारणासहित अघि बढेको घलेगाउँमा चैत यता पर्यटकहरुको आगमन ठप्प भएको छ। कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि आन्तरिक तथा बाह्य पर्यटक आगमनमा रोक लगाइएको थियो। स्थानीय पर्यटन समितिले लकडाउनका बेला घलेगाउँमा आउने पर्यटक राखेमा नगद जरिवाना समेत गर्ने निर्णय गरेको थियो।

लकडाउनको अवधिमा दीर्घकालीन पर्यटन व्यवसाय लक्षित संरचना सुधार, अर्गानिक कृषिमा वृद्धि, पर्यटकीय चिया बगानको बिस्तार तथा गोडमेललगायतका काम गरिएको पर्यटन व्यवस्थापन संयोजक दीर्घ घलेले बताए। 

घलेगाउँमा २०५६ सालमा जिल्लामै पहिलो पटक ग्रामीण पर्यटनको अवधारण भित्रिएको हो। दक्षिण एसियाकै नमुना गाउँ, नेपालकै उत्कृष्ट होमस्टे जस्ता उपाधिले पटक–पटक पुरस्कृत भएको घलेगाउँ पछिल्लो समय स्मार्ट भिलेजको अवधारणासहित अघि बढेको छ। यहाँ ३४ घरमा व्यावसायिक होमस्टे सञ्चालित छन्। घलेगाउँका होमस्टे व्यवसायीले प्रतिपरिवार मासिक २५ देखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.