|
फाइल फोटो

भक्तपुर : तहामचा गना तय्, ग्वाखँ प्वालय् तय्
ग्वाखँ प्वालय् म्हन्ह्सा, खुँसी च्वयका छ्वय्

विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ

अर्थात्, तहामचा कहाँ राखुँ, खोपामा राखुँ, खोपामा नअटे खोलामा लगेर राखुँ, विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ। अति नै मनमोहक तरिकाले भाका गाउँदै एकापसमा लठ्ठी जुधाउँदै गाईजात्राको अवसरमा नाच्ने घिन्ताङघिसी नाच यस वर्ष भक्तपुरमा प्रदर्शन नहुने भएको छ। 

कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले भिडभाड हुने जात्रा पर्व, भोज भतेर जस्ता कार्यक्रमलाई रोक लगाएको र जात्रामा स्वास्थ्य सुरक्षाका उपाय उपनाउन नसकिने हुँदा भक्तपुर नगरपालिकाले गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गर्न आग्रह गरेकाले यस वर्ष घिन्ताङघिसी नाच प्रदर्शन नहुने भएको हो।

गाईजात्राको दिन एक वर्षभित्र निधन भएका व्यक्तिको दिवंगत आत्माले मोक्ष प्राप्त गरुन् भनी तहामचा (बाँसको चारखुट्टे रथजस्तो जसमा कपडाले बेरेर मृतक व्यक्तिको तस्विर र टुप्पामा गाईको प्रतीक र परालको सिङ राखिएको हुन्छ) लाई काँधमा बोकेर नगर परिक्रमा गरिन्छ। तहामचासँगै धाँ बाजा, ताःबाजा र धिमाय् बाजाको तालमा नाच्ने घिन्ताङघिसी नाचले जात्राको रौनक नै बदलिने गर्दछ। जात्राको मुख्य आकर्षण नै यो नाच हो। 

भक्तपुरमा गाईजात्रा ९ दिन ८ रात धुमधामले मनाइन्छ। यहाँ दैनिक जस्तो साँझ घिन्ताङघिसी नाचसँगै विभिन्न हाँस्य व्यंग्य, ख्याल ठट्टायुक्त प्रहर्सन, धार्मिक र ऐतिहासिक महत्त्वका सांस्कृतिक नाचहरु देवी प्याखँ, माक प्याखँ, नागाचा प्याखं, लाखे प्याखं, देवी नाचलगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ। यस वर्ष कोरोनाका कारण यी सबै कार्यक्रम पनि नहुने भएका छन्।

यस वर्ष भक्तपुरमा मृतकका घरबाट सामान्य र औपचारिकताका लागि मात्र गाई निकालेर नगरपरिक्रमा गराई गाईजात्रा मनाउने भएको छ।

भक्तपुरमा गाईजात्राको दिन झण्डै एक लाखको हाराहारीमा मानिसहरुको जमघट हुने अनुमान गरिन्छ। जिल्लाका विभिन्न स्थानबाट मृतकको सम्झनामा तहामचा र गाईको प्रतीक निर्माण गरी नगर परिक्रमाका लागि भक्तपुर नगर ल्याउने गरिन्छ। त्यस्तै, गाईजात्रा हेर्न छिमेकी जिल्ला काभ्रेपलान्चोकको पनौती, धुलिखेल, बनेपा, नाला, ललितपुर र काठमाडौंका समेत हजारौं व्यक्ति आउने गर्दछन्। धेरै व्यक्ति उपस्थित हुँदा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले यस वर्ष गाईजात्रालाई औपचारिकतामा सीमित गर्न अनुरोध गरिएको नगरप्रमुख सुनिल प्रजापतिले बताए। 

उनले गाईजात्रा पर्वको सन्दर्भमा एक सन्देश जारी गर्दै लकडाउन फिर्ताको अर्थ भीडभाड गरी भोज भतेर गर्न, जात्राहरू सञ्चालन गर्न, देवी—देवता स्थानमा ठूलो समूह भेला भएर मनोरञ्जन गर्न वा पूजाआजा गर्न तथा सांस्कृतिक प्रदर्शन गर्न छुट नदिएको बताए। उनले भने, ‘त्यस्तो बुझाइ कसैमा छ भने त्यो गलत हो।’

यसअघि नगरपालिकाले गाईजात्रालाई सामान्य औपचारिक पूजामा सीमित गर्न जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर भक्तपुर, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समिति, बाराही द्योछेँ, भैरवनाथ नाइके, आकाश भैरव नौ दाफा, चपाः दाफा भजन, दत्तात्रय दाफा भजनलगायत सरोकारवालाहरूका प्रतिनिधिहरूसँग पटकपटक बैठक र छलफल गरेको थियो। सोही बैठकको निर्णयअनुसार नगरपालिकाले गाईजात्रामा घिन्ताङघिसीलगायत अन्य विविध सांस्कृतिक कार्यक्रम नगर्न आग्रह गरेको नगरप्रमुख प्रजापतिले बताए।

नगरपालिकाले गाईजात्राको दिन हुने सम्भावित भिड नियन्त्रण गर्न र जात्रामा सहभागी सबैले स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन गरे नगरेको अवलोकन गरी भिड व्यवस्थापनका लागि वडावडामा रहेका स्वयं सेवकहरुको टोली नेतासँग समेत छलफल गरी उचित निर्देशन दिएको छ। यसैगरी गाईजात्राको अवसरमा भक्तपुरको भैरवनाथको तहामचा ननिकाल्ने भएको छ। गाईजात्रालाई औपचारिक पूजामा सीमित गर्ने नगरपालिकाको निर्णयअनुसार भैरवनाथको तहामचा ननिकाल्ने निर्णय गरिएको भैरव नाइकेहरुले बताएका छन्।

भक्तपुरको गाईजात्रामा सर्वसाधारणको घरबाट मृतकको स्मृतिमा तहामचासहितको गाईजात्रा निकालेपछि अन्तिममा परालै परालले निर्माण गरिएको भैरवनाथको तहामचा निकाल्ने पराम्परा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.