तराईका जिल्लाबाट आएका र भारतीयमा धेरै संक्रमण

|

काठमाडौं : केही समयदेखि काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड-१९) संक्रमित बढ्दै गए पछि उपत्यकामा जोखिम बढेको छ।

उपत्यकामा देखिएका संक्रमितहरु हराउनसमेत थालेका छन्। पछिल्लो समय तराईबाट आएकाहरुमा संक्रमण देखिएसँगै अर्को समस्या पनि आइलागेको छ। उनीहरुले टिपाउने ठेगाना र फोन नम्बरसमेत गलत हुँदा संक्रमितहरु हराउन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीका अनुसार विशेषत तराईका जिल्लाबाट आएका र मजदुरी क्षेत्रमा कार्यरतहरुले  दिने सम्पर्क नम्बर र ठेगाना गलत पाइएको हो।

केहीले संक्रमित विवरणबारे जानकारी लिएपछि मोबाइल फोन अफ गरेर सम्पर्कविहीन हुने कोसिस गरेको समेत उनले बताए। ‘स्वाब दिँदा टिपाउने सम्पर्क ठेगाना गलत हुने वा संक्रमित भएको जानकारी पाएपछि मोबाइल अफ गरेर सम्पर्कविहीन हुने घटना बढ्दै गएको छ', उनले भने। 

पछिल्लो समय तराईबाट आएकाहरुमा धेरै संक्रमण देखिएको छ। यसलाई नियन्त्रण गर्न नाकामै विशेष निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको डा. अधिकारीले बताए।

नाकामा स्वाब दिएर उनीहरु उपत्यका भित्र छिर्ने गरेका छन्। तर रिपोर्ट पोजेटिभ आएपछि खोज्दा उनीहरु कि मोबाइल अफ गरेर हराउने वा सम्पर्क नम्बर नै गलत हुँदा संक्रमितहरु समस्या हुने गरेको छ। उनीहरू खुलेआम हिँड्ने हुँदा उपत्यकामा संक्रमणको जोखिम झनै बढेको हो।

सोमबार देखिएका संक्रमित को हुन्?

काठमाडौँ उपत्यकामा गए रातिसम्म कोरोना संक्रमितको संख्या ६२ पुगेको छ। सोमबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना अपडेटमा उपत्यकामा संक्रमितको संख्या ५१ जना उल्लेख थियो।

तर बेलुकासम्म संख्या बढेर ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित ६२ मध्ये ४८ जनालाई हिजै आइसोलेसनमा पठाइएको छ। बाँकी १४ जनाको आज व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हिजो देखिएका संक्रमित अधिकांश व्यक्ति तराई क्षेत्रको प्रदेश नं २ बाट आएकाहरु हुन्। दुईजना भने तेस्रो मुलुकमा गएर फर्किएका छन्। झण्डै आधा दर्जन भारतीय नागरिक छन्।

अन्य केही प्रहरी प्रधान कार्यालय नक्सालको कन्ट्याक ट्रेसिङमा परेका पनि छन्। हिजो देखिएका संक्रमितमध्ये २५ जना अस्पतालमा भर्ना भएका छन् २३ जना होम आइसोलेसनमा बसेका छन् । संक्रमितहरु ६ वर्षदेखि ६० वर्ष माथिसम्मका छन् ।

संक्रमितहरुलाई युनिफाइड अस्पताल बलम्बु, शहीद शुक्रराज अस्पताल टेकु, पाटन अस्पताल, काठमाडौँ मेडिकल कलेज दुवाकोट र आयुर्वेद अस्पताल कीर्तिपुरमा राखिएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.