|

सर्लाही : केही दिनयता छिन–छिनमा विद्युत् कट्ने समस्याले सर्लाहीबासी आजित भएका छन्। विद्युत् झ्याप–झ्याप जाने र आएको समयमा पनि अत्यन्त न्यून भोल्टेज हुने गरेको छ। चर्को गर्मीमा लाइन काटिँदा र न्यून भोल्टेज हुँदा पंखा नचल्ने भएपछि घरभित्र बस्नै नसक्ने अवस्था आउने गरेको बरहथवाका उपभोक्ता मन्दन साहले गुनासो गरे।

अनियन्त्रित तवरले कटौती र न्यून भोल्टेजले उद्योग कलकारखाना सञ्चालन नै हुन नसक्ने अवस्था आएको व्यवसायीहरुले गुनासो गरेका छन्। जसका कारण विद्युत् भएको समयमा समेत जेनेरेटर चलाएर काम गर्नुपर्ने व्यवसायीहरुको बाध्यता रहेको उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ बताउँछन्। 

त्यस्तै अनियमित विद्युत् कटौतीले सर्लाहीमा सञ्चालित एफएम रेडियो र अनलाइन कक्षा पढ्ने विद्यार्थीसमेत मारमा परेका रेडियो सर्लाहीका स्टेशन म्यानेजर संजु कर्णले गुनासो गरे।
यता विद्युत् प्राधिकरणले भने क्षमताभन्दा बढी मात्रामा विद्युत् खपत हुँदा जिल्लाभर नै विद्युत् प्रवाहमा बारम्बार समस्या आइरहेको जनाएको छ। रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रसारण लाइन हरिपुर, बरहथवा र मलंगवा सब–स्टेसन हुँदै सर्लाही जिल्लाभर वितरण भइरहेको छ।

प्राधिकरण बरहथवा वितरण केन्द्रका इन्जिनियर संयोग विश्वकर्माका अनुसार जिल्लाका तीन वटा सब स्टेसनले ३३ केभीबाट लिएको करेन्ट पाँच सय एम्पियरसम्म पुग्ने गरेको छ। तर सर्लाहीमा विस्तार भएको तारको क्षमता ४३० एम्पियर मात्रै छ। यसरी तारको क्षमताभन्दा बढी करेन्ट प्रवाह हुँदा तारको कनेक्सन छुट्ने समस्या बारम्बार दोहोरिने गरेको विश्वकर्माले बताए।

वर्षा धेरै हुँदा पोल ढल्ने र चर्को घाम लागेको समयमा ओभरहिट भएर कनेक्सन छुट्ने समस्या बढी देखिने गरेको प्राविधिकहरुले बताएका छन्। नवलपुरमा बनिरहेको सब स्टेसन सञ्चालनमा नआउँदासम्म सर्लाहीमा विद्युत् समस्या रहिरहने प्राधिकरणले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.