सर्लाही : नेपाल सरकारले असारदेखि भदौसम्म तीन महिना नदीजन्य सामग्री उत्खननमा रोक लगाए पनि सर्लाहीको उत्तरी क्षेत्रमा स्थानीय तहकै मिलेमतोमा व्यापक दोहन भइरहेको छ।
बन्देजको वेवास्ता गर्दै सर्लाहीबाट बग्ने सबैखोलाबाट दर्जनौं ठाउँबाट सैयौं टयाक्टर र टायरगाडामा ढुङ्गा, गिट्टी बालुवा उत्खनन भैरहेको स्थानीयले आरोप लगाएका छन्। पूर्वमा ईश्वरपुरको बाँके, लालबन्दी, फूलजोर र कालिन्जोर, हरिवनको लखन्देही, बागमती नगरपालिकाको बागमती नदी, जिरायत टेकानीघाट, रामपुरघाट, र बरहथवा नगरपालिकाको खर्सालघाट, सोह्र घरेटोल र हजरियाबाट दैनिक सयौं ट्याक्टर र टायरगाडाबाट गिट्टी, बालुवा र ढुंगा उत्खनन हुने गरेको छ।
यतिखेर नदि नजिकै रहेका गाउँका स्थानीय र ठेकेदारले दादागिरी शैलीमा नदीजन्य सामग्री उत्खनन गरिरहँदा पनि सम्बन्धित निकाय भने मौन रहेका स्थानीयले बताउने गरेका छन्।तस्करहरुले खोलाबाट विभिन्न साधन प्रयोग गरी नदीजन्य वस्तु निकाल्नाले सयौं बिघा जमिन कटान भएको र खोला नजिकै रहेको बस्ती र तटीय क्षेत्रका दर्जनौं गाउँ डुबानमा पर्न सक्ने बरहथवा–१ का वडाध्यक्ष रत्नबहादुर गिरीले चिन्ता जनाए।
अघिल्लो सोमवार मात्र हरिपुर नगरपालिका–९ पिडारीमा लखन्देही खोलाबाट अवैध ढंगले बालुवा उत्खनन गरिहेका ९ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कार्वाहीको लागि नगरपालिकामा बुझाएको छ।
त्यसरी उत्खनन गरिएका नदीजन्य सामग्री खोलाकै बगरमा भण्डारण गरिने गरिएको छ। यसरी भण्डारण गरिएका नदीजन्य पदार्थ प्रतिबन्ध हटेपछि व्यापारीहरुले महँगोमा बिक्री गर्ने बागमती ५ राजघाटका कृष्ण तुमसिंहले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।