|

डडेल्धुरा : डडेल्धुरा अस्पतालको प्रयोगशालामा हालसम्म ३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ। नागरिकस्तरबाटै चन्दा संकलन गरेर अस्पतालमा स्थापना गरिएको पिसिआर मेसिनबाट एक महिनाको अवधिमा ३ हजार ९४ जनाको नमुना परीक्षण गरिएको हो। 

उक्त मेसिनबाट गत असार १८ गतेदेखि परीक्षण सुरु भएको थियो। मंगलबारसम्म परीक्षण भएका नमुनामध्ये १ सय ९९ पोजेटिभ र २ हजार ८ सय ९४ नगेटिभ नतिजा आएको अस्पतालका ल्याब इञ्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर मापनमा शत प्रतिशत उत्तम देखिएको प्रयोगशालाले अहिले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई सेवा दिइरहेको छ। सुरुमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इञ्जिनियरसहितको टोलीले पिसिआर मेसिनको गुणस्तर परीक्षण गरेका थिए। अहिले अस्पतालका ल्याब इञ्चार्ज भुसालको नेतृत्वमा ४ जनाको टिमले उक्त मेसिनबाट कोरोना परीक्षण गरिरहेको छ। 

यसअघि धनगढीको प्रयोगशालामा भर परेका सम्पूर्ण पहाडी जिल्लालाई उक्त ल्याबले सहज भएको छ। डडेल्धुरा अस्पतालको ल्याबले अन्य सेवामा समेत स्तरवृद्धि गरेकाले सेवा लिन आउने बिरामीको चाप बढिरहेको ल्याब इञ्चार्ज भुसालले बताए। डडेल्धुरामै ल्याबसम्बन्धी सम्पूर्ण सेवा पाइने भएपछि यहाँका नागरिकको समय र पैसा दुवै बचत भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.