विज्ञहरूको कुरामा प्रधानमन्त्री सकारात्मक

|

काठमाडौं : जनस्वास्थ्यविद् र विज्ञहरुले कोरोनालाई महामारीको रुप लिन नदिन केही समय कडा खालको लकडान गर्नुपर्ने सुझाव दिएका छन्। 

काठमाडौं उपत्यकासहित देशभरी नै कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको छलफलमा जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले दुई हप्ता लकडाउने बढाउनेदेखि कर्फ्यु लगाउनुपर्नेसम्मका सुझाव दिएका हुन्। 

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिने दर बढेकाले १५ दिन कडा खालको लकडाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताए। 

सुरुमा भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुमा संक्रमण देखिने गरेकोमा पछिल्लो समय नेपालमै बस्ने एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिरहेकाले १५ दिन कडा लक डाउन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ अपनाउने गरी अगाडि बढ्नुपर्ने उनले बताए। 

केही विज्ञहरुले भने लक डाउन मात्रै महामारी नियन्त्रणको एकमात्रै उपाय नभएकोले संक्रमण देखिएका निश्चित ठाउँहरु सिलबन्दी गरी सीमानाकामा कडाई गर्नुपर्ने सुझाव दिएका छन। 

अर्का जनस्वास्थ्यविज्ञ डा. समिरमणि दीक्षितले लकडाउन गरेर कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा कडाई गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताए। 

स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने उल्लेख गर्दै उनले सबैका सल्लाह सुझाव अनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास व्यक्त गरे।

नेताहरु शेरबहादुर देउवा, महन्थ ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष लगायत जनस्वास्थ्य विज्ञहरु सहभागि छलफल पछि प्रधानमन्त्री ओलीले सुझावहरु कार्यान्वयन प्रकृयामा लैजाने बताए। 

प्रधानमन्त्रीको प्रेस सल्लाहका सूर्य थापाका अनुसार स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर आगामी कदम चाल्ने प्रतिवद्धता प्रधानमन्त्रीले गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.