म्याग्दी : मनमोहक प्रकृति पंक्षीहरुको चिरबिराहट। म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त हिमालीस्थल ‘रिखार क्षेत्र’ धर्तीको स्वर्ग र हिमाली देवताको वासस्थान भनेर चिनिन्छ।
संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिकस्थल रिखार क्षेत्र जति विकट छ त्योभन्दा सयौं गुणा मनमोहक र चित्ताकर्षक रहेको नवीन आनन्द योग केन्द्रका योग गुरु नवीन जुग्जालीले बताए।
सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखारमा जनै पूर्णिमाको दिन विशेष पूजाआजा हुने भए पनि यस वर्ष विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण पूजा स्थगित भयो।
बेनीबाट गलेश्वर, मोवाफाँट, दग्नाम, दर्मिजा, चिमखोला, मंगले, घाँसीखर्क, चौरखानी, द्धारी, पात्लेखर्क, बयलीखर्क हुँदै हिमालको फेदमा अवस्थित रिखार क्षेत्रमा पुग्न सकिन्छ।
मत्स्य पुराणमा वर्णित रिखार
हिन्दूधर्माका धेरै धार्मिक ग्रन्थहरुमा रिखार क्षेत्रको बारेमा धेरै वर्णन गरिएको भए पनि रिखार क्षेत्र नेपालको म्याग्दी जिल्लामा पर्छ भन्ने कुरा धेरैलाई जानकारीमा नै छैन। मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषिहरु डुंगामा चढी सुरक्षत स्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुंगा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धवलागिरि पर्वतलाई समुद्रको बीचमा माथि उठेको देखे र आफ्नो डुंगालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख गरिएको छ।
सप्तऋषिको तपोभूमि
पुलहाश्रम अन्र्तगतका चार धामहरुमध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम,पश्चिममा मानसरोवरधाम,दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम रहेका छन्।बाल्मीकि गुफा,अरुन्धती गुफा,सप्तऋषि गुफा नामका गुफा रहेका छन्।
डुंगा आकारको ढुंगा र गुफाले मत्स्य पुराण र श्रीमद्भागवत महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका उपाध्यक्ष पं भीमनाथ पराजुलीले बताए। सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र हिन्दूधर्मावलम्बीहरूको आस्थाको धरोहरसमेत मानिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।