सडकको भीड रोक्न सवारीसाधनमाथि कडाइ

|

काठमाडौं : लकडाउन हटेसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले भोलि (बिहीबार) देखि जोरबिजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ। 

काठमाडौँ उपत्यका र कोभिड-१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ। 

त्यस्तै काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको मन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाले बताए। 

यस्तै २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने निर्णय पनि भएको छ।

त्यसैगरि जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालक समेतलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ। 

नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

यसैगरी कोभिड-१९ को सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र-स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड-१९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ। 

प्रेस विज्ञप्ति

कोभिड-१९ को संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा सो को रोकथाम र नियन्त्रणका लागि देहाय बमोजिमको निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने आवश्यक व्यवस्था हुन सवै सुरक्षा निकाय र सवै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ। 

१. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने। मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने। जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालक समेतलाई कारवाही गर्ने।

२. काठमाण्डौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सवै यात्रुबाहक सवारी साधनहरुलाई बेलुका ७:०० बजेदेखि विहान ७:०० बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागु गर्ने। काठमाण्डौ उपत्यका र कोभिड-१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोलि मिति २०७७/०४/२२ गतेदेखि लागु हुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्‍चालन गर्ने व्यवस्था गर्ने। यस वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्ला भित्र समेत बेलुका ९:०० बजेदेखि विहान ५:०० बजेसम्म आवागमन बन्द गर्ने।

३. कोभिड-१९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड-१९ को थप परीक्षणको व्यवस्था मिलाउने।

४. नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने।

५. होटल, रेष्टुरेण्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गर्ने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.