हेटौंडा-भीमफेदी रुटमा मनलाग्दी, जोखिममा जनता

|

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा दैनिकजसो  कोरोना संक्रमण बढ्दै गएको छ। लगातार जसो कोरोना संक्रमण बढिरहँदा मकवानपुर प्रशासनको भने बेवास्ता रहेको छ।

सदरमुकाम हेटौंडामा मास्क लगाउनेहरूलाई केहि जरिवाना लिएता पनि प्रहरी र प्रशासनले सार्वजनिक यातायात क्षेत्रमा ध्यान दिएको छ। लामो समयको लकडाउनपछि सरकारले भौतिकदुरी कामय गरेर सवारी चलाउन सक्ने निर्देशिका जारी गरेपछि जिल्लाभित्रका सार्वजनिक सवारी चल्न थालेका छन्।

तर निर्देशिकाअनुसार सार्वजनिक सवारी चलाउँदा ५० प्रतिशत मात्रै यात्रु चढाउन पाइनेछ। आधा मात्रै यात्रु चढाउन पाउने भएपछि अहिले कायम भाडाको ५० प्रतिशत बढी लिन पाउनेछन्।

हेटौंडा-भीमफेदी रुटमा मनलाग्दी

निर्देशिकामा त्यो उल्लेख भए तापनि मकवानपुर प्रशासनले बेवास्ता गरेको छ। हेटौंडाबाट भीमफेदी, मनहरी, थाहा नगर जाने यातायातका सवारी साधनमा आधा मात्रै होइन क्षमताभन्दा पनि दोब्बर यात्रु बोकेर हिँड्ने गरेको पाइएको छ।

तर, प्रहरी चौकीहरूमा चालकहरूले ट्राफिक र प्रहरीलाई घुस दिएर यात्रु जति बोके पनि केही नगर्ने यात्रुहरूकैअगाडि सार्वजनिक यातायातका सह–चालकहरूले बताउने गरेका छन्।  सरकारको निर्देशिकाविपरीत जोखिम बढाउँदै यात्रु दोब्बर र भाडा पनि दोब्बर लिएर बोक्ने गरेता पनि मकवानपुर प्रशासनले कुनै चासो देखाएको छैन।

चुरियामाई नाकामा कडा

कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि बनाइएको कमाण्ड पोष्टले लकडाउनको सुरुवाती चरणमा सक्रिय भूमिका देखाएता पनि पछिल्लो समय निष्क्रिय भएको थियो। तर, केही दिनदेखि देखिएको कोरोना उच्च जोखिमले कमाण्ड पोष्ट ब्युँझिएको छ।

बुधबार कमाण्ड पोष्ट मकवानपुरले निर्णय गरेर प्रदेश नम्बर २ बाट बागमती प्रदेशको राजधानी हेटौंडा छिर्ने नाकामा कडाइ गर्ने भएको छ। मकवानपुरसँग सिमाना जोडिएको  बारा, पर्सासहित  कोरोना संक्रमण फैलिरहेका जिल्लाबाट सर्वसाधारण निर्वाध हेटौंडा भित्रन थालेपछि कोरोनाको जोखिम बढेको थियो।

राजधानी हेटौंडामा नै कोरोनाका बिमारी फेला पर्न थालेपछि प्रशासनले सक्रियता देखाएको हो। हेटौंडा भित्रिने नाका चुरियामाईमा  बुधबारबाट कडाई गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

सरकारले तोकेका ढुवानीका सवारीका साधन र पास भएका सवारीका साधनलाइ मात्र हेटौंडा प्रवेश गर्न दिने निर्णय गरिएको उनले जानकारी दिएका छन्।  बुधबार हेटौँडामा बसेको कमाण्ड पोष्टको बैठकले बुधबारबाट ब्यूटी पार्लर, सैलुन, जिम क्लब बन्द गरिने र होटल तथा रेष्टुरेन्टमा भीड हुन नदिने निर्णय गरिएको प्रजिअ नेपालले बताए।

यस्तै हेटौंडा १० मा रहेको सिता भवनमा दुई जनाको कोरोना पुष्टि भएपछि भवन शिल गरिएको छ। कमाण्ड पोष्टकै निर्णय अनुसार  ढुवानी साधनमा पनि चालक र सहचालक बाहेक अन्य यात्रुहरु  ओसारपसार गर्न दिइएको छैन। बुधबार थप ३ जनासहित हालसम्म मकवानपुरका ५१ जना संक्रमित भएका छन्। हेटौडा उपमहानगरपालिकामा संक्रमित हुनेको संख्या १९ पुगेको छ। संक्रमित भएका २७ जना भने  नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.