जिल्ला तहमा कडाइ गर्दै जाने रणनीति

|

काठमाडौं : सरकारले तत्काल देशभर लकडाउन नहुने बताएको छ। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका हुन्। 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन्।

उनले जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्लास्तरबाट सेवाहरु रोकिने अथवा लकडाउन हुन सक्ने बताउँदै देशभर एकैसाथ लकडाउन हुने स्थिति नरहेको स्पस्ट पारे।

खतिवडाले त्रसित भएर पूर्ण रुपमा यसअघि जस्तै लकडाउन हुन्छ भन्‍ने मनस्थिति कसैले पनि नबनाउन आग्रह गरेका छन्। उनले अहिले पनि दुई दर्जन भन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताएका छन्। 

काठमाडौं उपत्यका भित्रको बढ्दो संक्रमण जोखिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखिम भएको हुनाले केही कदमहरू चाल्न सुरु गरिएको उनले बताए। जनजीवनमा अप्ठेरो परेपनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गरेका छन्।

सरकारले कोरोना नियन्त्रणका लागि प्रतिकारात्मक र उपचारात्मक विधि अपनाएर काम गरिरहेको र संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन नदिने बताए। त्यसका लागि सरकारले उपचारका संयन्त्र, यन्त्र उपकरण लगायतको व्यवस्था गरिरहेको बताए।

क्‍वारेन्टाइन्हरु खाली हुँदै जाने र आइसोलेसनका बेडहरु बढ्दै जाने स्थिति भएकाले सोही अनुसारको व्यवस्था गर्नुपर्ने आवस्यकता अनुसार काम भइरहेको स्पस्ट पारे।

आवश्यकता अनुसार कतिपय ठाउँमा आइसियु कक्षको थप विस्तार गर्दै जाने रणनीतिमा सरकार रहेको बताए। यस्तै कोभिडको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिरहँदा स्वास्थ्यसम्बन्धी अरु कारणले मृत्यु नहोस र अन्य आर्थिक समस्या समेत नआओस् भन्‍ने विषयमा सरकार सजग रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने भन्ने सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरु र आर्थिक क्षेत्रका विज्ञहरुसँग छलफल गरिसक्नु भएको उनले बताए।

विज्ञहरुले लकडाउन मात्रै समस्याको समाधान नभएको सुझाव दिएकाले त्यही अनुसार नै व्यवस्थापन गरिने बताए। विज्ञहरुले मानिसको मृत्युसम्मको अवस्थामा पुर्‍याउने विभिन्‍न रोगको विवरण उपलब्ध गराएको र त्यसमा कोरोना ५० औं नम्बरमा रहेको बताए।

समस्या बढ्दै जाँदा कतिपय अवस्थामा अलि कठोर हुनुपर्ने र कतिपय अवस्थामा खुकुलो हुनुपर्ने गरी व्यवस्थापन गरिने स्पस्ट पारे। 'जुन जिल्लाहरुमा कोरोना संक्रमणको अवस्था शुन्य भइसक्यो त्यहाँ खुकुलो गर्ने र जुन जिल्लामा बढेको छ', उनले भने, 'त्यहाँ स्थानीय तहमार्फत अथवा जिल्लामार्फत कडाइका साथ जान्छ।'

भिडियो :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.