|

जनकपुरधाम : प्रदेश २ मा नेपाली सेना, स्वास्थ्यकर्मी र भारतीय दूतावासका कर्मचारीसहित ६३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ।

सामाजिक विकास मन्त्रालयका वरिष्ट चिकित्सक डा.कमलेश प्रसाद यादवका अनुसार आज ११ महिला र ५२ पुरुषमा कोरोना पुष्टि भएको छ। पर्सामा सबभन्दा बढी ३९ जना, धनुषामा ९ जना र सर्लाहीमा ८ जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै महोत्तरी र बारामा २/२ जना तथा सिरहा, सप्तरी र रौतहटमा १/१ जना संक्रमित थपिएका छन्।

आज कोरोना पुष्टि भएका मध्ये ६ जना प्रादेशिक अस्पताल जनकपुरका कर्मचारी छन्। यसअघि पनि प्रादेशिक अस्पतालमा डाक्टर र नर्ससहित २३ जनामा कोरोना पुष्टि भइसकेको छ।

यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयका थप एक जनामा कोरोना पुष्टि भएको छ। हिजो मात्रै मन्त्री ज्ञानेन्द्र कुमार यादवसहित ८ कर्मचारीमा कोरोना पुष्टि भएको थियो। जनकपुरकै कर्मचारी सञ्चय कोषमा कार्यरत एक पुरुष पनि संक्रमित भएका छन्।

यस्तै पर्साको श्रीपुर आर्मी व्यारेकका ५ आर्मी स्टाफमा पनि कोरोना पुष्टि भएको मन्त्रालयका वरिष्ट चिकित्सक यादवले बताए। उनका अनुसार वीरगन्ज कारागारमा पनि एक आर्मी स्टाफको रिपोर्ट पोजेटिभ आएको छ। यस्तै चण्डीप्रसाद गणका ५ सेनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै नारायणी अस्पताल (क्वार्टर)का २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जमा रहेको भारतीय राजदूतावासका एक जना समेत कोरोना संक्रमित भएका छन्। संक्रमित पुरुष २५ वर्षको रहेको बताइएको छ।

थपिएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.