|

बर्दिया : जिल्लामा आउँदो आइतबार साउन २५ गतेदेखि निषेधाज्ञा गरिने भएको छ। कोरोना संक्रमण समुदायस्तरमा केही व्यक्तिमा देखिएको छ। थप संक्रमण फैलिँदै जान सक्ने खतरा बढ्ने भन्दै सतर्कता अपनाउँदै नियन्त्रण गर्न आइतबारदेखि ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको हो। 

कोरोना संकट व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते बिहीबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

जिल्ला समन्वय समिति संयोजक ८ वटै पालिका प्रमुख, स्वास्थ्य प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको उपस्थितिमा भएको छलफलबाट आइतबारदेखि बर्दियामा ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए। 

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्क अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई उनले आग्रह गरेका छन्। पिसिआर मेसिन तत्काल जडान गरिने
यस्तै बर्दियामा ८ वटै पालिकाको सहयोगमार्फत पिसिआर परीक्षण उपकरण जडान गर्ने यसअघिको निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याउन र छिटोभन्दा छिटो पिसिआर जडान जडान गरि पिसिआरको दायरा बढाउने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए।

सबैभन्दा बढी आउजाउ गरिने छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमित समुदायस्तरमा बढ्न थालेपछि नियन्त्रणका लागि बाँकेमा पनि निषेधाज्ञा गरिएको छ। 

आजै १३ जनामा संक्रमण पुष्टि

बर्दियामा आज एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बर्दियाको गेरुवा गाउँपालिकामा ६ जना, बाँसगढी नगरपालिकाका ३ जना, बारबर्दियामा २ जना, बढैयाता गाउँपालिकामा १ र राजापुर नगरपालिकामा १ जना गरि १३ जनामा कोरोना संक्रमित पुष्टि भएको जनाइएको छ। 

आज संक्रमण पुष्टि हुनेमा ३ जना महिला र १० जना पुरुष रहेका छन्। बर्दियाका राजापुरकी १८ बर्षीय १ महिला, र गेरुवा गाउँपालिका वडा नम्बर २ र ५ की २७ र ३१ बर्षीय महिलामा पनि आज संक्रमण पुष्टि भएको छ। यस्तै बारबर्दियाका २२ र २४ बर्षका पुरुष, बासगढी ४ का २४ बर्षिय तथा वडा नम्बर ५ का २७ र ४८ वर्षीय पुरुषमा आज संक्रमण पुष्टि भएको छ। 

यस्तै गेरुवा गाउँपालिका वडा नम्बर ३ का २५ बर्षय पुरुष, वडा नम्बर २ का २८ वर्षीय पुरुष तथा वडा नम्बर ४ का ३४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। बढैयाताल गाउँपालिकाका २१ वर्षीय पुरुष तथा पाताभार बर्दियाका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।  

योसँगै बर्दियाका कोरोना संक्रमतिको संख्या २ सय ६८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थय अधिकृत कृष्ण गोपाल चौधरीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.