घरका संक्रमितलाई स्वास्थ्यकर्मीले नहेरे मन्त्रालयमा सम्पर्क गर्न आग्रह

|
फाइल फोटो

काठमाडौं : सरकारले उपत्यकामा कोभिड-१९ को संक्रमितलाई उपचार गर्न बनाइएका अस्पतालको बेड दिनदिनै भरिन थालेका छन्। दिनप्रतिदिन काठमाडौं उपत्यकामा कोभिडका संक्रमित थपिँदै गएपछि अस्पतालमा अहिले बेड पाउन मुस्किल हुने अवस्था आउन सक्ने देखिएको छ। थपिएका नयाँ संक्रमित र उपचाररत संक्रमित बाहिरी जिल्ला र थोरै मात्र उपत्यकाका छन्।

काठमाडौं उपत्यकामा संक्रमित थपिन थालेपछि सरकारले परीक्षण दायरा बढाएसँगै संक्रमित थपिएका हुन्। अस्पतालमा लक्षणसहित संक्रमितलाई उपचार गर्दा अस्पतालमा बेडको अभाव हुँने संभावना बढ्दै गएको छ।

अस्पतालको बेड भरिएपछि कोरोना पोजिटिभ देखिएको तर, लक्षण नदेखिएका बिरामीलाई कोभिड अस्पताल बाहेकका अस्पतालमा लगी उपचार गर्न थालिएको छ। उपत्यकामा मुख्यतः सरकारले कोभिड अस्पतालको उपचार केन्द्रको रुपमा शुक्रराज ट्रपिकल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बलम्बुको सशस्त्र अस्पताललाई लिएको छ।

कोभिड उपचार केन्द्रको रुपमा तीनै अस्पतालमा संक्रमितको संख्याले बेड भरिएको छ। मुख्य अस्पतालले लक्षण भएका संक्रमितलाई मात्र उपचार गरिरहेका छन्।

अस्पतालको आइसोलेसन बेड प्याक, आइसियुमा राखी उपचार

कोरोनाका लक्षण सहित का ४७ जना बिरामीलाई अस्पतालमा राखी उपचार गरिएको र बेड सबै प्याक भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी बताउँछन्। कोरोना पोजिटिभ भएका तर, लक्षण नभएका संक्रमितलाई उपत्यकाको अन्य अस्पतालमा पठाउने गरिएको उनले बताए।

आइसोलेसन बेडको अभाव भएर आइसियुको बेडमा राखी उपचार गर्न थालिएको राजभण्डारीले जानकारी दिए। आइसियुमा १ जना संक्रमितलाई राखी उपचार गरिरहेको र अवस्था सामान्यतर्फ गइसकेको उनले बताए।

अस्पतालबाट दैनिकजसो ३ देखि ४ जना डिस्चार्ज भइरहेका पनि उनले जानकारी दिए। अस्पतालमा धेरैजसो पुरुष संक्रमित छन्। तीन जना महिला रहेकाले तिनीहरुलाई छुट्टै बेड बनाइ उपचार प्रक्रिया बढाइसकिएकाे उनको भनाइ छ।  उनले भने,' के एम सी अस्पताल, कीर्तिपुर, ह्याम्स र अन्य सरकारले तोकेको अस्पतालमा संक्रमितलाई पठाउने गरिएको छ।'

बेड थप्दै संक्रमितको उपचार गर्दै

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६६ जना संक्रमितको उपचार भइरहेको छ। अस्पतालको आइसोलेसन बेड पूर्ण रुपमा प्याक भइनसकेकोले अस्पतालमा आएको संक्रमितलाई नफर्काउने गरेको अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए।

बेडको अभाव हुन नदिने र त्यसको लागि अस्पताल प्रशासनले व्यवस्थापन गर्ने प्रयास गरिरहेको उनले जानकारी दिए। अस्पतालमा ६० बेडको आइसोलेसन छ। ६ जना संक्रमितलाई बेडको दूरी बनाइ समायोजन गरि राखिएको शर्माले थाहाखबरलाई बताए।

उनले भने, 'आइसियुमा ८ जना संक्रमितको उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर छ।'

सशस्त्र प्रहरी अस्पतालमा संक्रमितको लागि बेड अभाव

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १ सय १६ संक्रमितको उपचार भइरहेको अस्पतालका प्रवक्ता एसपी प्रवीण नेपालले जानकारी दिए। सबै संक्रमित लक्षणसहितका भएकाले उनीहरुलाई अस्पतालमा राखी उपचार गरिएको उनले बताए।

उनले भने, 'संक्रमितको संख्या बढी भएकोले अस्पतालको बेड भरिएको छ। दैनिकजसो डिस्चार्ज पनि हुन्छन्। तर, संक्रमतिको संख्या बढी भएकोले बेड अभाव छ।'

अस्पतालको आइसियुमा २ जनालाई राखी उपचार गरिरहेको र अवस्था गम्भीर रहेको उनले जानकारी दिए। 'अस्पतालमा भर्ना भएका शंकास्पद ६ जनालाई पनि यहीँ राखी उपचार गरिएको छ,' उनले भने।

'घरमा रहेका लक्षण नभएका संक्रमितलाई गाह्रो भए अस्पताल भर्ना हुनु'

त्यसैगरी, सरकारले लक्षण नभएका संक्रमितलाई स्वेच्छाले उपचार घरमा बसी उपचार गर्न अनुमति दिइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रणबाट प्राप्त तथ्यांक अनुसार काठमाडौंमा घरमा बसी उपचार गर्नेको संख्या २७ पुगेको छ।

कोरोना पुष्टि भएका र लक्षण नदेखिएका बिरामीलाई घरमा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्न दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। उनले भने,' सरकारले निर्देशिका जारी गरेअनुसार घरमा आइसोलेसन कोठा हुनुपर्छ। एकान्त तथा हावा ओहोरदोहोर गर्ने हुनुपर्छ। त्यस्तो व्यवस्था भएमा लक्षण नभएका संक्रमितले घरमा बसी उपचार गर्न पाउँछन्।'

घरमा बस्ने संक्रमितलाई प्रत्यक्षरूपमा स्वास्थ्यकर्मीले निगरानी गरिरहेको उनले जानकारी दिए। १ जना स्वास्थ्यकर्मीले घरमा बसेका ५० जना संक्रमितलाई हेर्ने गरेको पनि उनले जानकारी दिए।

घरमा बस्ने संक्रमितलाई स्वास्थ्यकर्मीले निगरानीमा राखेको छैनन नि? भन्ने प्रश्नमा उनले भने,' यदि कुनै पनि संक्रमितलाई स्वास्थ्यकर्मीले निगरानी नगरेको भए संक्रमितले स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्नुपर्यो। घरमा बसेका संक्रमितले अस्पताल भर्ना हुन्छु भनेमा अस्पताल भर्ना हुने व्यवस्था गराउँछु। स्वास्थ्यकर्मीले निगरानीमा कसैलाई पनि कमी राखिएको छैनन्।'

घरमा बस्ने संक्रमितलाई स्थानीय सरकारको समन्वयमा राखिएको उनले बताए। स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानी गरिरहेको उनको दाबी छ। यदि कुनै संक्रमितलाई गाह्रो भए अस्पताल भर्ना हुन पनि उनले सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.