'एक माघले कोरोना जाँदैन, उपदेशले पेट भरिँदैन'

|

पर्वत : जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीरले सरकारलाई ‘प्रिय सरकार’ का नाममा सम्बोधन गर्दै कोरोनाको बारेमा दिने गरेको सन्देश तीतो बन्न लागेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले कोरोना सङ्क्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर मोबाइलको रिंगब्याक टोन, स्वास्थ्य मन्त्रालयका प्रवक्ताको ठाडो उपदेश, सञ्चार माध्यमदेखि विज्ञहरूको अर्तिमा मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने र हात धोइरहने कुरा सबै नागरिकलाई थाहा भइसकेको बताउँदै नागरिकलाई मास्क लगाएनन् भनेर आरोप लगाउनुको कुनै अर्थ नभएको दाबी गरेका छन्।

अहिलेको युगमा उपदेश सबैभन्दा अप्रिय विषय भएको भन्दै डा. समीरले उपदेशकर्ताले आफूलाई सर्वज्ञाता र आफूबाहेक अन्यलाई केही थाहा नभएको भन्ने भ्रम रोग पालेर बसेको हुनाले एकै उपदेश पटक पटक दिँदा श्रोता वा दर्शक वाक्क दिक्क हुन्छन् भन्ने उसले नबुझ्ने हुँदा उपदेशको डोज जति हाइ हुन्छ, त्यसले त्यति नै काम गर्न छोड्ने उल्लेख गरेका छन्।

‘अहिलेको युग भनेको अन्तरक्रियाको युग हो। मनोवैज्ञानिक संवादको युग हो। हामी सबैले मैले केही कुरा जानेको छु, मेरो कुरा सुन्नेले मैलेभन्दा धेरै कुरा जानेका हुन्छन् भन्ने मानसिकता विकास गर्नु जरुरी छ।’ समीर लेख्छन्, ‘चाडपर्व कसरी मनाउने? हामीलाई थाहा छ सरकार, भोको पेट र रित्तो आङले चाडपर्व मनाउन पाइन्छ कि पाइन्न सरकार? लौ न, एक डोज उपदेश पाऊँ।’

नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धोएनन्, जनता अनुशासित बनेनन् भनेर सरकारी संयन्त्रहरूले आरोप लगाइरहँदा नागरिकले पनि सरकारले उचित ठाउँमा परीक्षणको दायरा नबढाएको, अस्पतालमा क्षमता वृद्धि नगरेको, अरबौँ रुपैयाँका विषयमा आरोप लगाएको उनको भनाइ छ।

सरकारले यसो गर्नुपर्छ

डा. समीरले राज्यले मास्क उत्पादक संस्थालाई मेसिन तथा कच्चापदार्थ ल्याउन छुट दिने, केटाकेटीको लागि कार्टुन भएका रमाइला मास्क उत्पादन गर्ने, किशोर किशोरीको लागि फेन्सी मास्क उत्पादन गर्ने, खेल प्रेमीको लागि खेलाडीको फोटो भएका मास्क उत्पादन गर्ने, ज्येष्ठ नागरिकको लागि धार्मिक आस्था प्रतिबिम्बित मास्क उत्पादन गर्ने तथा ती मास्कलाई अत्यन्तै सस्तो मूल्यमा उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन्।

कपडाको मास्क तथा सर्जिकल मास्कलाई २÷३ रुपैयाँमा उपलब्ध गराउने हो भने धेरै व्यक्तिले मास्क लगाउने भन्दै उनले हरेक सेवाग्राही कार्यालय, चोक, निर्माण स्थल, स्वास्थ्य संस्था आदिमा निःशुल्क मास्क वितरण गर्ने तथा मास्कलाई रहर र फेसनको विषय बनाउने हो भने मास्क लगाउनेको सङ्ख्या ह्वात्तै बढ्ने तथा स्यानिटाइजर र साबुनलाई सरकारले ५/५ रुपैयाँमा सर्वसुलभ गराउनुपर्ने भनेका छन्।

न्यून आय भएका तथा प्रयोग नभएका क्षेत्रमा निःशुल्क वितरण गर्ने हो भने जनतालाई लो डोजको सल्लाहले पनि काम गर्छ भन्दै उनले अहिलेको सुगा रटाइमा बजेका सूचनाप्रति व्यङ्ग्य गरेका छन्।

‘सकभर घरभित्र बस्ने मन कसको मन हुँदैन र? मुसा दौडने रित्ता भाँडा, चौबिसै घण्टा भोक लाग्ने केटाकेटी, अभावले उत्पन्न अशान्ति अनि पैसो माग्न आउने साहुभन्दा चर्का आफन्त सकभर घरभित्र बस्दैनन्। उनीहरू घरभित्र बसे पो हामी पनि सकभर घरभित्र बस्ने थियौँ।’

डा. समीर लेख्छन्, ‘समाजवाद उन्मुख संविधान तथा कम्युनिस्ट सरकार भएको मुलुकमा गरिब तथा सर्वहारा बर्गले राहत पाउँदैनन्, सिटामोल र जीवनजल नपाएर मृत्युवरण गर्छन् तथा सरकारका परम मित्र ठूला व्यवसायीले कर र ब्याजमा सहुलियत पाउँदैनन् भने सरकार पाल्ने नागरिकको आँखामा मोतीबिन्दु लाग्न सक्छ। मोतीबिन्दु लागेका जनताले चुनाव चिन्ह नचिन्ने खतरा बढ्न सक्छ। भनिन्छ नि एक माघले कोरोना जाँदैन, उपदेशले पेट भरिँदैन।’

उनको फेसबुक स्टाटस जस्ताको तस्तै :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.