|

बैतडी : पछिल्लो समय बैतडीमा विद्युत सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन्। छिनछिनमै बिजुली आउने/जाने हुन थालेपछि सेवाग्राही मारमा परेका हुन्। विद्युत प्रवाह अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीहरूले बताएका छन्।

पछिल्ला केही दिनयता विद्युत सेवा अनियमित हुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका-७ का दिपेन्द्र कार्कीले बताए। बेला बेलामा आउने जाने हुने गरेको छ। उनले भने, ‘यसले गर्दा उपकरण बिग्रने गरेका छन्।’

विद्युत नियमित नआउँदा मिल सञ्चालक, कम्प्युटर पसल, इलेक्ट्रोनिक पसलहरू, विद्युतबाट सञ्चालन हुने ग्रील उद्योग लगायतलाई समस्या भएको छ। साथै, विद्यार्थीहरूलाई समेत पठनपाठनमा सकस परेको छ। जिल्लामा सञ्चालित सञ्चार माध्यमहरू पनि मारमा परेका छन्‌।

बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकहरूले बेलाबेलामा बिद्युत आउने जाने गर्नाले धेरै विद्युतीय सामाग्रीहरू बिग्रिने गरेको बताएका छन्। बत्ती आउने जाने हुनुका साथै पूर्ण क्षमतामा नआउँदा थप समस्या हुने गरेको छ। 

नियमित बिजुली नआउँदा मिल सञ्चालनमा बाधा पुगेको मुस्याचौरका व्यापारी पूर्णानन्द भट्टले जानकारी दिए। अनियमित विद्युत कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ।

अनियमित विद्युत कटौतीले श्रीकोट स्वास्थ्य चौकीमा खोप सेवा प्रभावित हुने गरेको छ। श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज बीर सिंह भाटका अनुसार भ्याक्सिनहरू चौबिसै घण्टा चिसोमा राख्नुपर्ने भएपनि अनियमित विद्युत कटौतीले गर्दा खोप सेवा प्रभावित हुने गरेको बताए।

लोड बढेका कारण विद्युत सेवा अनियमित भइरहेको र बैतडी र बझाङ एउटै लाइनबाट विद्युत प्रवाह हुने भएकाले बेलाबेलामा समस्या आउने गरेको छ। हावाहुरी लगायतकारणले पनि विद्युत सेवा अनियमित भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र बैतडीले जनाएको छ।

लगातारको झरीका कारण तार चुँडिने, हावाहुरीले पोल ढल्ने लगायतका समस्याहरू आउँदा विद्युत सेवा अनियमित हुन गरेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए। उनले भने, ‘वर्षा र हावाहुरीले विद्युतका संरचनाहरूमा क्षति पुर्‍याइरहेकाले विद्युत अनियमित हुने गरेको छ, सकेसम्म चाँडो विद्युत सेवा नियमित गर्न कार्यालयले काम गरिरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.