बाँके : भेरी अस्पताल नेपालगन्जको प्रसूति वार्ड सिल गरिएको छ।
उपचारका लागि भर्ना भएकी गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको अस्पतालले जनाएको छ। रुकुम चौरजहारीकी गर्भवती प्रसूति वार्डमा बुधबार भर्ना भएकी थिइन्।
बच्चा जन्मिने महिना पुगिसकेकाले बिहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी गरिएको थियो। शल्यक्रियाको तयारी भइरहेका बेला अचानक उनलाई ज्वरो आएपछि कोरोना भाइरस परीक्षण गर्न स्वाब निकालिएको थियो।
तीन दिन अघि लिइएको स्वाबको रिपोर्ट शनिबार आउँदा उनमा कोरोना देखिएको अस्पतालले जनाएको छ। गर्भवतीलाई कोरोना देखिएपछि उनलाई शिक्षण अस्पताल कोहलपुरमा लैजाने तयारी गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बताए। शिक्षण अस्पताल कोहलपुर कोभिड–३ लेभलको अस्पताल हो।
जटिल खालका कोरोना संक्रमित बिरामीको उपचार त्यहीँ हुने गरेको छ। उक्त अस्पतालले यसअघि कोरोना संक्रमित तीन जनाको सफलतापूर्वक शल्यक्रिया गरिसकेको छ।
प्रसूति वार्ड सिल गरी आउजाउ बन्द गरिएको उनले बताए। उनले वार्डलाई सेनिटाइज गरी संचालनमा ल्याइने बताए। ती महिला तीन दिनसम्म प्रसूति वार्डमा बसेकाले त्यहाँ भएका अन्यलाई पनि कोरोना सरेको आशंका गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।