पालो गरेर लखेट्दै कृषक

|

पर्वत : पानी पर्न रोकिएर घाम लागेसँगै पर्वतका विभिन्न स्थानमा सलह कीराले निकै क्षति पुर्‍याएको छ। खेतबारीमा रोपेको धान र कोदोका बेर्ना नै खाइदिएपछि किसानहरू सलह खेद्न आलोपालो खट्नुपर्ने बाध्यतामा परेका छन्‌।

यतिखेर धान र कोदो हरियो भई हुर्किने बेला भएको तथा काण्ड नरम र गुलियो हुने भएकोले सलह कीराले सबैभन्दा बढी कोदोमा क्षति गरेको छ। लाखौँको सङ्ख्यामा आएको सलहको झुण्डले कुस्मा नगरपालिका-९ कटुवाचौपारी, आर्थर, पाङ, फलेवास नगरपालिकाका शंकरपोखरी, मुडिकुवा, मोदी गाउँपालिकाको देउपुर लगायतका ठाउँमा क्षति गरेको त्यहाँका कृषकहरूले बताएका छन्।

अन्नबालीका बिरुवा खान सलहको ठुलो झुन्ड केही दिनदेखि पाङमा बसिरहेको वडा सदस्य वीरेन्द्र रिजालले जानकारी दिए। ‘सलहले हैरान पारेको छ, यो ठाउँ अलि गर्मी छ, त्यही भएर पो हो कि! सलह कीराले बारी छपक्कै ढाकेको छ, कोदो त सिध्याइसक्यो,’ रिजालले भने, ‘कृषकहरूले बारीमा पालो गरेर थाल ठटाउने, दौडने र चिच्याउने गर्दै आउनुभएको छ।’

वडाध्यक्ष देवेन्द्र सुवेदीले पाङका कृषकहरूलाई पालो गरेर भएपनि खेतबारीमा गएर थाल तथा भाँडा बजाउन, धूवाँ बाल्न र खेतबारीको बीचमा बस्न भनिएको जानकारी दिए। ‘सलहले कोदो सखाप पारेको छ, खेतबारीमा पालो अनुसार जान कृषकहरूलाई अनुरोध गरेका छौँ, त्यसो गर्दा पनि केही सीप चलेको छैन, गण्डकी प्रदेशमा यसको रेस्पोन्स टीम रहेछ, त्यहाँका प्राविधिकहरुसँग कीटनाशक औषधि प्रयोगको बारेमा सल्लाह गर्दै छु।' ठूलो क्षेत्रफलमा फैलिएको पाङको पश्चिमतर्फका क्षेत्रमा सलह बढी भएको र कति क्षति भयो भन्ने विवरण सङ्कलन गर्न लागिएको उनले जानकारी दिए।

कुस्मा नगरपालिका १४ आर्थरका कृषक होमनाथ रिमालका अनुसार धानमा सामान्य क्षति गरेको भए पनि कोदोको भने जरा मात्र बाँकी छ। ‘आकाशभरि सलह उडेको छ, बारीमा बस्नासाथ एकैछिनमा सिध्याइहाल्यो,’ रिमालले भने, ‘वर्षदिनका लागि लगाएको बाली सखाप पार्‍यो, कोदोको ठेट्ना मात्र बाँकी रहेकाले अब पलाएर फल्छ जस्तो लाग्दैन।’ सोही ठाउँका कृषक रामचन्द्र शर्माले पनि सलह लखेट्न पालो गरेर खेतबारीमा जाने गरेको जानकारी दिए।

अन्नबाली खेतबारीमै रहेका कारण कति क्षति भयो भन्ने विवरण आउन बाँकी नै छ। वडा कार्यालयहरूले आफ्नो वडामा विवरण सङ्कलनको काम गरिरहेपनि जिल्लाभरीमा के कति क्षति भयो भन्ने अन्तिम विवरण तयार भइनसकेको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए।

‘यो भोल्टे फट्याङ्ग्रो हो’

पाङका ज्येष्ठ नागरिक ८४ वर्षीय धनप्रसाद पाध्याले सलहलाई ‘भोल्टे फट्याङ्ग्रा’ का नामले उति बेला चिनिने गरेको बताए। धान बालीमा देखिने हरियो रङ्गको सानो फट्याङ्ग्रो देखिरहेका बेला फरक रङ्ग र ठूलो आकारको फट्याङ्ग्रो देखेकाले सबैले ‘भोल्टे फट्याङ्ग्रो’ का नामले चिनेको उनको भनाई छ।

वि.सं. २००४ सालको भदौमा आएको सलहले आकाशै ढाक्दा जमिनमा घाम नै नछिरेको सम्झना उनीसँग छ। ‘ए! अलि अलि हो र! छपक्कै आयो, पूरै आकाश ढाक्यो, माथि हेर्दा त कालै, तल घामै छिर्न पाएको हैन लौ!’ उनले भने, ‘हामी ३ बाउछोरा भएर दिनभरी लखेटेर त्यो वर्ष बल्ल-बल्ल एउटा गह्राको कोदो र मकै मात्र जोगाइयो। अरू गरामा त बाली लिन टेक्नै परेको होइन।’ चार सालमा आएको सलह अहिलेको भन्दा पनि ठुलो भएको पाध्याले सुनाए।

त्यो बेलामा लखेट्ने उपाय र सिकाउने माध्यम नभएका कारण थाल ठटाउने, चिच्याउने, दौडने गरेर लखेटेको फलेवास नगरपालिका ३ शंकरपोखरीका बलबहादुर भण्डारीले बताए।

२००४ सालपछि २००७ सालको असोजमा र कतिपय ठाउँमा २०१८ सालमा पनि सलह आएको पाको पुस्ताले बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.