कलेज भन्छ : ‘गलत योजना’

|

काठमाडौंः सरकारले राष्ट्रिय पुस्तकालय बनाउन रोक लगाएको जमलको ८ रोपनी जग्गामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले त्रि-चन्द्र क्याम्पस सार्ने गरी वृहत्तर गुरु योजना ल्याएको छ। रानीपोखरी, खुलामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर गुरुयोजना अन्तर्गत राष्ट्रिय नाचघर अगाडिको जग्गामा त्रि-चन्द्र कलेज पुनर्निर्माण प्रस्ताव अघि सारिएको हो।

प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले भने, ‘मौलिकता झल्किनेगरी रानीपोखरीदेखि दशरथ रंगशालासम्म समावेश गरी गुरुयोजनाको प्रस्ताव तयार पारिएको छ। यस गुरुयोजनामा जमलस्थित जग्गामा त्रि-चन्द्र कलेज सार्ने योजना छ।’ 

प्राधिकरणले समन्वयबिना नै राष्ट्रिय पुस्तकालय हरिहर भवनमै बनाउने र त्रि-चन्द्र कलेज सार्ने सहितको योजना ल्याएको भन्दै पुस्तकालयका कर्मचारीहरू र कलेजका अधिकारीहरूले विरोध जनाएका छनं। प्राधिकरणको योजनामा त्रि-चन्द्र कलेजले असहमति जनाएको छ।

‘कलेज सर्दैन, सार्ने खबर गलत हो’

प्राधिकरणले कुनै समन्वय नगरी कलेज सार्ने योजना ल्याएको कलेजले जनाएको छ। त्रि-चन्द्र कलेजका सहायक क्याम्पस प्रमुख बालकृष्ण खत्रीले कलेज सार्नेबारे अहिलेसम्म कुनै योजना नल्याइएको जानकारी दिए।

‘त्रि-चन्द्र कलेज सार्ने विषयमा विद्यार्थी र शिक्षकलाई कुनै जानकारी छैन,’ उनले भने, ‘हामीले कुनै योजना बनाएका पनि छैनौँ, प्राधिकरणले गुरु योजनामा त्रि-चन्द्र कलेज सार्ने भन्दै पत्रपत्रिकामा समाचार छपाएर भ्रामक सूचना फैलाएको छ, यो सबै गलत हो।’

उनले कलेज नसार्ने स्पष्ट पारे। उनले भने, ‘जहाँ कलेज छ, त्यही रहिरहन्छ, यो पुरानो ऐतिहासिक र पुरातात्विक भवन हो, भूकम्पले क्षति पुर्‍याएकोले पुनर्निर्माण गर्न सम्बन्धित निकायमा हामीले अपिल गरिरहेका छौं। हामीले प्राधिकरणको योजनालाई खण्डन गरेर प्रेस विज्ञप्ति समेत जारी गरिसकेका छौँ।’

कलेजको असहमतिबारे प्रवक्ता अर्याल भन्छन,‘अहिले त्रि-चन्द्र कलेजको विषय छलफलकै चरणमा छ, टुंगिएकै छैन। सम्बन्धित निकायसँग छलफल गरेरमात्रै यस विषयमा निर्णय लिन्छौँ।’

प्राधिकरणले ०७६ भदौ महिनामा मात्रै त्रिविसँग त्रि-चन्द्र क्याम्पस सार्न प्रारम्भिक छलफल गरेको थियो। प्राधिकरण अनुसार घण्टाघर पछाडिको जग्गा र जमलस्थित जग्गामा त्रि-चन्द्र कलेजको भवन पुनर्निर्माणका लागि भारतीय एक्जिम बैंकको सहयोग अन्तर्गत २ अर्ब रुपैयाँको प्रस्ताव पठाइएको छ।

चौथा राणा प्रधानमन्त्री चन्द्र शमशेर राणाका पालामा वि.सं. १९७५ मा नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रि-चन्द्र कलेजको स्थापना भएपछि नै नेपालमा उच्च शिक्षाको विधिवत आरम्भ भएको थियो।

तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेरको पालामा यो कलेज शिलान्यास भएको थियो। स्थापना हुँदा यस संस्थाको काम ‘त्रिभुवन चन्द्र कलेज’ राखिएको थियो। वि.सं. १९८१ बाट यसलाई ‘त्रि-चन्द्र कलेज’ मात्र भन्न थालियो।

वि.सं. २०३० सालमा नयाँ शिक्षापछि यस ऐतिहासिक क्याम्पसको नाम ‘त्रिभुवन क्याम्पस’ राखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.