बाँके : मृत्युपछि कोरोना पुष्टि भएकी कोहलपुर नगरपालिका–२ की ७० महिलाको अन्त्यष्टि गरिएको छ।
उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर मृत्यु भएकी ती महिलाको नेपाली सेनाको भैरवप्रसाद गणको टोलीले सम्मानका साथ अन्तिम संस्कार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।
मृतक महिलाको छातीमा इन्फेक्सन हुनुका साथै निमोनियाबाट ग्रस्त थिइन्। उनलाई साउन २३ मा अस्पताल ल्याइएको थियो। कोरोनाका शंका लागेपछि अस्पतालले सोही दिन स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पतालको पिसिआर ल्याबमा पठाएको थियो।
उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले बताए। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि बाँकेको नरैनापुर गाउँपालिकाका एक पुरुष तथा बैजनाथ गाउँपालिकाकी एक महिलाको मृत्यु भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।