|

पर्सा : वीरगन्जस्थित अधिकांश अस्पतालहरुले बिरामीको उपचार नगरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन्। उनीहरुले आइतबार नारायणी अस्पतालमा तोडफोड गरेका छन्।

पीडित र स्थानीयको तोडफोडबाट नारायणी अस्पतालका डा. उदय नारायण सिंहको बा १२ च ६९६६ नम्बरको गाडीमा क्षति पुगेको छ। उनीहरुले अस्पतालभित्र पार्किङ गरी राखेको डा. सिंहको कारसहित सेनिटाइज गर्ने मेसिन, स्वाब संकलन गर्न बनाइएको ठाउँ तथा गमलाहरुमा क्षति पु¥याएको पर्सा प्रहरीले जनाएको छ। घटनास्थलमा पर्सा प्रहरी प्रमुख गंगा पन्त पनि पुगेकी थिइन्।

समयमा उपचार पाए मृत्यु नहुने दावी  

शुक्रबार राति वीरगन्जका विभिन्न निजी अस्पतालमा पु¥याउँदा पनि उपचार नपाएपछि विष्णु लामाको मृत्यु भएको प्रदर्शन तथा तोडफोडमा सहभागीहरुले दावी गरेका छन्। लामाको शनिबार बिहान वीरगञ्जको नारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको स्वाब परीक्षणको रिपोर्ट भने आइतबार पोजेटिभ आएको छ।
  
मृतक युवतीलाई अस्पतालले सयममा नै अस्पतालमा भर्ना गरी अक्सिजन दिएको भए उनको मृत्यु हुने सम्भावना कम रहेको स्थानीयको दावी छ। मृतक युवतीलाई दुई दिन पहिलेदेखि सामान्य ज्वरो आएको र शुक्रबार राति सास फेर्न अप्ठ्यारो भएपछि अस्पताल चाहारेको मृतका छिमेकी अजित भूजेलले बताए।

नारायणी अस्पतालमा पनि सुरुमा भर्ना नगरी निजी अस्पतालमा लान भनेपछि वीरगञ्जका प्रायः सबै निजी अस्पताल चाहार्दा पनि उनले उपचार पाइनन्। अन्तिममा फेरि नारायणीमै लाँदा नारायणीको अस्थायी कोभिड अस्पतालमा पठाइएको थियो। त्यहाँ उपचार सुरु गरेलगत्तै लामाको मृत्यु भएको उनका आफन्तको भनाइ छ।

कोरोनाबाहेक सबै सेवा नारायणीमा होस् ः स्थानीय

यो अस्पताल, त्यो अस्पताल भन्दै मान्छे मार्ने डाक्टर नचाहिएको स्थानीयको माग छ। उनीहरुले नारायणी अस्पतालमा नै सबै प्रकारका सुविधा हुनुपर्ने बताएका छन्। कोरोनाका बिरामी जति सबै निजीमा राख्ने प्रवन्ध गरियोस् भन्ने पीडित पक्षको माग छ।

नेपाल सरकारले एक साताअघि नारायणी अस्पताललाई पुनः कोभिड अस्पताल बनाउन भन्दै पत्र पठाएपछि स्थानीय निकै रुष्ट भएका छन्। गत चैत ३० गते पहिलो पटक वीरगञ्जमा कोरोना संक्रमण पुष्टि हुँदा यहाँका कुनै निजी अस्पतालले उपचार गर्न नमानेपछि नारायणी अस्पतालले नै कोभिड १९ का बिरामीको उपचार गर्न थालेको थियो। 

उक्त समयमा नारायणीमा जाने बिरामीलाई नेसनल मेडिकल कलेजमा पठाउने सहमति भएको थियो। तर, उता नेसनलले समयमा उपचार नगरी मानिसको मृत्यु भएको भन्दै स्थानीयले नारायणीमा कोभिडबाहेक सबै प्रकारका सेवा दिइनुपर्ने उनीहरुको माग छ। नारायणी बल्ल जेनेरल अस्पतालमा रुपान्तर भएको केही समय बित्न नपाउँदै स्वास्थ्य मन्त्रलायले कोभिड बनाउन लागेको भनी स्थानीय रुष्ट भएका छन्। यो पटक पनि तीन दिनमा लामासहित दुईजनाको निजी अस्पतालको लापरबाहीका कारण मृत्यु भएको स्थानीयको दाबी छ।

नारायणीमा जनशक्ति र निजी अस्पतालमा तत्परताको कमी  

नारायणीका भने केही डाक्टरसहित ३८ जना स्वास्थ्यकर्मी कोरोनाका संक्रमित भएको कारण पूर्ण सेवा दिन नसकिएको मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए। केन्द्रको लिखित निर्देशन कोभिड अस्पताल बनाउने छ। स्थानीयको माग जेनेरल अस्पतालकै छ। चिकित्सक र स्वास्थ्यकर्मी पनि संक्रमित भएको अवस्थामा पूर्ण सेवा दिन सकस छ। त्यसमा पनि यहाँबाट निजीमा लान भनिएका बिरामी निजी अस्पतालले नहेरिदिएपछि यस्ता दुःखद् घटना हुन थालेको उनको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.