मनोरञ्जन

सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

साउन २६, २०७७

    बागलुङ : लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महीना पुग्दैछ। 

    यस बीचमा गीतको म्यूजिक भिडिओले युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ।  सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ।

    सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो। चार महीना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो। गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर भरेका छन्। युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिएका छन्।

    स्रोता र दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो। अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ। पछिल्लो एक महीनामा झण्डै दश लाख पटक हेरिएको छ। “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो”, सङ्गीतकार थापाले भने।

    झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ। कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ। म्युजिक भिडिओ नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ। निर्देशन शिव विकले गरेका छन्। हाल अमेरिकामा रहेका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ। “मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो”, उनले भने।      

    गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए। उनको साङ्गीतिक जीवनको मानक गीतका रूपमा सालको पातलाई सधैँ सम्झिने छ। अभ्यास डिजिटल म्यूजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]