|

बैतडी : बैतडीमा एक महिनाको अवधिमा मास्क नलगाई हिँड्डुल गर्ने व्यक्तिबाट ४१ हजार रुपैयाँ जरिवाना संकलन भएको छ। गत असार २३ देखि हालसम्म ४१० व्यक्तिलाई जरिवाना गरिएको  हो।

मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्हुल गर्ने व्यक्तिलाई एक सय रुपैयाँका दरले जरिवाना गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। पहिलोपटक मास्क लगाउन आग्रह गर्ने र त्यसपछि पनि अटेरी गर्ने व्यक्तिलाई जरिवाना गरिएको हो। 

यसका साथै हालसम्म ७०० जनालाई निःशुल्क मास्क बितरण गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।  सार्वजनिक स्थलमा मास्कबिना निस्केका व्यक्तिलाई मास्क वितरण गरिएको हो।

सरकारले लकडाउन खोलेसँगै बजारमा भिडभाड बढेको र स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएकाले बजार क्षेत्रमा अनुगमन पनि गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर बजार क्षेत्रमा स्वास्थ्य सुरक्षा सतर्कताबारे जनचेतना फैलाउनुका साथै मास्क वितरण गर्ने गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

गृह मन्त्रालयले गत असार २२ देखि मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो। मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेअनुसार बैतडीमा पनि कार्यान्वयनमा ल्याइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.